पर्वत–राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पर्वत जिल्ला अस्पतालमा पुग्नुभएको छ । तर उहाँ उपचार गर्नका लागि भने होईन । पर्वत जिल्ला अस्पताल परिसरमा निर्माण हुन थालेको ५० शैयाको अत्याधुनिक भवनको निर्माणको अवस्थाका बारेमा निरिक्षण गर्न उहाँ सोमवार विहान त्यहाँ पुग्नुभएको हो ।
झण्डै दुई महिना अघि आफैले शिलन्यास गरेको भवनको निर्माणको अवस्थाबारे उहाँले जानकारी लिनुभएको छ । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले निर्माणाधिन अस्पतालको प्रगतिका बारेमा जानकारी दिँदै समयमै भवन निर्माणका लागि बजेट लगायत अन्य कुराहरुको पहल गरिदिन आग्रह गर्नुभएको थियो ।
अस्पताल भवन निर्माणको जिम्मा लिएको गोरखा कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधिलाई तोकिएकै समयमा गुणस्तरमा तलमाथि नगरीकन काम सम्पन्न गर्न उहाँले निर्देशन समेत दिनुभएको छ । मानविय स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने अस्पतालको भवनमा कुनै कमजोरी नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।
पर्वत जिल्ला अस्पतालको नयाँ भवन रु.२१ करोड १३ लाख रुपैयाको लागतमा निर्माण हुन लागेको हो । ५० शैया र अत्याधुनिक सुबिधा सहितको भवन ३० महिनामा पुरा गर्ने कार्यक्रम छ ।
अस्पतालको नयाँ भवनमा अपाङ्गमैत्री कक्ष, बालवालिका कक्ष, माईनर तथा मेजर अपरेसन कक्ष, एक्सरे कक्ष सहितको एकीकृत भवन हुने छ । पाँच वटा ब्लकमा निर्माण हुने अस्पतालमा डाक्टर तथा नर्सहरुको आवास, ५० वटा शैया, प्रसुति गृह, शल्यकृया भवन, एक्सरे, इसिजी, ल्याव लगायतका छुट्टाछुट्टै कोठाहरु रहने अध्यक्ष पहाडीले जानकारी दिनुभयो । भवनको गत मंसिर २४ गते शिलन्यास गरिएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जनप्रतिनिधि, नेकपाका नेताहरु पनि सहभागि भएका थिए ।