प्रमुख समाचार

पर्वतको मोदी गाउँपालिका र चीनको सियान नगरबीच भगिनी सम्वन्ध जोडिदैँ

By लोकतन्त्र अनलाईन

December 12, 2019

पर्वत– पर्वतको मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सीयान नगरका बिचमा भगिनी सम्वन्ध कायम हुने भएको छ । पोखरामा आइतवार आयोजित एक कार्यक्रममा दुई पक्ष विच भगिनी सम्वन्ध कायम गर्ने सम्वन्धी आसय पत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आसय पत्रमा मोदी गाउँपालिकाका तर्फबाट अध्यक्ष प्रेम पौडेल र सीयान नगरपालिकाको तर्फवाट सेक्रेटरी झाङ वीगौले हस्ताक्षर गर्नुभएको छ । जनवादी गणतन्त्र चीनको सीयान नगरका प्रतिनिधिलाई स्वागत एवं कार्यक्रममा बारेमा वोल्दै मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले प्राकृतिक हिसावले समानता रहेका दुई नगरका विच भगिनी सम्वन्ध कायम हुनु ऐतिहासिक घट्ना भएको बताउनुभयो । सियान नगरसँगको सहकार्यमा कृषि, उर्जा, बाणिज्य, पर्यटन लगायतका क्षेत्रमा काम गर्न तयार रहेको उहाँले बताउनुभयो । दुई पक्ष वीच आत्मीय सहयोग र सद्भाव तथा समृद्ध गाउँपालिका निर्माणका लागि मित्र नगरबाट सहयोग प्राप्त हुने अपेक्षा उहाँले व्यक्त गर्नुभएको थियो । उहाँले आगामी दिनमा दुवै पक्षका प्रतिनिधिहरुको भ्रमणले मोदी र चीनको सीयान शहरका वीच प्रगाढ सम्वन्ध कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सीयान नगरका सेक्रेटरी झाङ वीगौले प्राकृतिक सम्पदाले भरिपूर्ण मोदी गाउँपालिकासँग भगिनी सम्वन्धका लागि भएको पहलले आफुहरु अत्यन्त खुशी भएको उल्लेख गर्नुभयो । उहाँले मोदीका प्रतिनिधिहरुलाई आफुहरुको नगरमा स्वागत गर्न आतुर रहेको उल्लेख गर्दै, मोदीवासीले गरेको स्वागत सत्कार बास्तवमा नेपालकै प्रतिनिधित्व भएको बताउनुभयो । उहाँले मोदी र सीयान वीच भगिनी सम्वन्ध कायम भएपछि धेरै कुरामा सहयोगको ढोका खुल्ने उल्लेख गरे । विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, पर्यटन र बाणिज्यको क्षेत्रमा सहकार्य गरिने जनाउ उहाँले दिनुभयो । यो खबर धौलागिरि सञ्चार साप्ताहिकमा छापिएको छ । पहिलो चरणको कार्यक्रममा दुई पक्षका विच भगिनी सम्वन्ध स्थापना गराउने र सहयोग आदानप्रदानका बुँदाहरुमा सम्झौता भएको हो । अब गाउँ कार्यपालिकाको निर्णय र गण्डकी प्रदेशका मुख्य मन्त्रीको सिफारीसमा भगिनी सम्वन्धको प्रकृया शुरु हुने मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगिनी सम्वन्ध कायम भएसँगै दुवै पक्षबीच आपसी सहकार्यका लागि बाटो खुल्ने बताउनुभयो । उहाँले मोदी गाउँपालिकामा विकास निर्माणले तीब्रता पाउनुका साथै कृषि, पर्यटन र उर्जा लगायतका क्षेत्रको तीब्र विकास हुने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले भगिनी सम्वन्ध काम हुनु राम्रो पक्ष भएको बताउनुभयो । उहाँले विकाशशील सियान र विकासोन्मुख मोदी गाउँपालिकाबीचको समन्वय र सहकार्यमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा अध्यक्ष तिमिल्सिना र मन्त्री लम्सालले सि चिनफिङले सुनाएका कथाहरु र द वल्र्ड अफ चाईनिज नामका दुई पुस्तक समेत बिमोचन गर्नुभएको थियो । भगिनी सम्वन्धमा हस्ताक्षर गर्न मोदीको टोली निकट भविश्यमा सीयान जाने तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । उक्त भगिनी सम्वन्ध कायम गराउनका लागि चिनीया उर्जा तथा जलश्रोत क्षेत्रका लि जिआन्लीन, क्वेन मेन्जीन, चेन छिङ, करेण्ट मिडिया तथा पव्लिकेशन प्रालिका संचालक किरण गौतम, सौरभ ढकाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेल, गण्डकी प्रदेशका उद्योग पर्यन वन तथा वातावरण मन्त्रीका स्वकीय सचिब किशोर सापकोटाले विशेष भूमिका खेल्नुभएको थियो । कार्यक्रममा मोदी गाउँपालिकाको लेस्पार होमस्टे संचालकले सोरठी नृत्य प्रहशन समेत गरेका थिए ।