पर्वतको मोदीबेणीलाई उत्कृष्ट गन्तव्य स्थल बनाउँछौ ः मन्त्री लम्साल - News site from Nepal

पर्वत– पर्वतको मोदीबेनीको पूर्वाधार विकास र गुरुयोजनाको बारेमा छलफल भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल सहित जिल्लाका सरोकारवालाहरु, पर्यटनबिदहरुको बिचमा छलफल भएको हो ।
पर्वत र बागलुङको साझा तिर्थस्थलको रुपमा रहेको मोदीबेनीको विकासका लागि आवश्यक सहयोग गर्ने मन्त्री लम्सालले प्रतिबद्धता जनाउनुभएको छ । सरकारले सक्ने सहयोग गर्ने र यसलाई उत्कृष्ठ गन्तव्य बनाउने गरि मन्त्रालयले योजना बनाउने मन्त्री लम्सालले बताउनुभयो । मोदीबेनीको महत्व उजागर गर्दै यसलाई विश्वभर चिनाउन पनि आफुले आवश्यक सहयोग गर्ने लम्सालले बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका १७ का समाजसेवी चन्द्रकान्त बरालले आफ्नै लगानीमा १० फिटको शिवको मुर्ती र १० फिटको नृसिँहको मुर्ती बनाउने प्रतिबद्धता जनाउनुभएको छ । बरालले मोदीबेनीलाई पोखराको पुम्दी संग सम्पर्क स्थापित गरि धार्मिक पर्यटन भित्राउन पहल गर्ने बताउनुभयो । मोदीबेनी नृसिँह मन्दिर संरक्षण तथा पर्यटकिय विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यसको ऐतिहाँसिक धार्मिक महत्व रहेको बताउँदै त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
मोदीबेनी नृसिँह मन्दिर संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले मोदीबेनीको विकासमा मन्त्री लम्सालले गरेको प्रतिबद्धता पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।
अहिले वारीबाट पारी पुग्ने गरि कालीगण्डकीमा पुल बनेको, कुश्माबाट पक्कि सडक बन्दै गरेको, कालीगण्डकी करिडोरले फेरो हाल्न लागेको लगायतका विषयमा बैरागीले अवगत गराउनुभयो । सो अवसरमा पूर्व प्रशासक नरहरी बराल, नेकपाका नेताहरु मेघनाथ सुवेदी, किशोर सापकोटा लगायतको सहभागिता रहको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari