
पर्वत –पर्वत र बागलुङमा ८० वटा नमूना कृषि फर्म बन्ने भएका छन् । कृषिको आधुनिकिकरण तथा व्यवसायिकरणका लागि कृषि ज्ञान केन्द्र पर्वतले नमूना फर्म बनाउने भएको हो । ज्ञान केन्द्रका अनुसार यसका लागि ३ करोड ४४ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।
कार्यालयले विभिन्न ९ वटा वाली समेटेर नमूना फर्म बनाउन लागेको जानकारी दिएको छ । मिश्रित वालीका ३२, तरकारीका २६, महुरीका १०, सुन्तलाका ५ , फलफुलका २, अलैचीका २, अर्गानिक तरकारी, किवी खेती र च्याउका १÷ १ वटा नूमना फर्म सञ्चालन गर्न कृषकहरुलाई अनुदान सम्झौता गरि रकम वितरण गर्न थालिएको छ ।
कृषकहरुबाट माग संकलन गरि अहिले धमाधम अनुदान सम्झौता गर्न थालिएको कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले जानकारी दिनुभयो । एउटा फर्मका लागि २ लाख ५० हजार देखि ४ लाख ८५ हजार रुपैयाँ अनुदान रकम प्रदान गरिने रेग्मीले बताउनुभयो । एउटा सामूहिक बाहेक अरु सबै व्याक्तिगत रुपमा कृषि पेशा गर्न निवेदन आएकोमा कार्यालयले कृषकहरुलाई कार्यालयमा बोलाएर अनुदान सम्झौता गरिरहेको छ ।
पर्वत र बागलुङ जिल्ला हेर्ने गरि पर्वतको कुश्मामा प्रदेश मातहत स्थापना भएको कृषि ज्ञान केन्द्रले प्रांगारिक तरकारी खेती, पकेट र व्लक विस्तार, कृषि बन प्रणाली, साना सिँचाई, कृषि यान्त्रिकरण लगायतका कृषिमुखी कार्यक्रम सार्वजनिक गरेको छ ।