
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृह जिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ ।
गण्डकी प्रदेशबाटै राज्यको विशिष्ट श्रेणीमा पुग्न सफल भएको भन्दै सम्मानस्वरुप उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आइतवारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको उद्घाटनका अवसरमा उहाँलाई सम्मानपत्र, दोसल्ला, फुलमाला र खादा लगाएर आयोजक तथा महोत्सवमा सहभागि अतिथि र दर्शकहरुले अभिनन्दन गरेका हुन् ।
कार्यक्रममा सहभागि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेश सभाका सदस्य तथा मन्त्रीहरु, नेपाल सरकारका सचिब र दर्शकहरुले फुलमाला लगाएर अभिनन्दन गरेका थिए । उनिहरुले पर्वत जिल्लाकै इतिहासमा राज्यको सवैभन्दा ठुलो तहमा पुग्न सफल भएको भन्दै जिल्लाको विकास निर्माणले अझै फड्को मार्ने विश्वास समेत व्यक्त गरेका छन् ।
सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पञ्चायत विरुद्धको आन्दोलनमा पर्वतका प्रत्येक गाउँवासीले माया गरेको, आश्रय दिएको र आफुलाई बचाएका कारण नै आफु यो स्थानमा पुग्न सकेको बताउनुभयो । उहाँले भावुक हुँदै भन्नुभयो–‘त्यतिबेलै तलमाथि भएको भए आज यो स्थानमा पुग्ने अवसर कसरी पाउँथे होला र पक्कैपनि राज्यको विशिष्ट तहमा पुगेको छु, पर्वतवासीले हिजो आफ्नै भाई, छोरा भनेर लगाएको गुन तिर्ने छु ।’ उहाँले यसो भनिरहँदा कार्यक्रममा सहभागिहरु समेत भाबुक बनेका थिए । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उहाँले लामो समय जेल जीवन समेत विताएको स्मरण पनि गर्नुभयो ।
‘हुन त म अहिले श्रोत साधन भएको निकायमा छैन तर पनि बोली बिक्ने स्थानमा छु, मेरो प्राथमिकतामा मुलुकका ७७ वटै जिल्ला पर्छन तर आफ्नो जन्मभूमिको माया छुट्टै हुँदो रहेछ’ उहाँले भन्नुभयो । उहाँले संयोगले आफ्नो कार्यकाल पनि छ वर्षको भएकाले कार्यकालभरी पर्वतबासीका आशा र अपेक्षाहरु पुरा गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको सवै स्थानीय तह र वडासम्म पनि कालोपत्रे सडक, खानेपानी, विद्युत, सिंचाई र अन्य आधारभूत आवश्यकताको विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महोत्सवकै अवसरमा पर्वत जिल्लामा जन्मिएर राज्यका विशिष्ट श्रेणीमा पुग्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल, परराष्ट्र मन्त्रालयका सचिब शंकरदास बैरागी, त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री, नेपाल प्रहरीका पूर्व डिआईजी ज्ञानेद्र विक्रम महत लगायतलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।
महिलाहरुको मात्र व्यवस्थापनमा संचालित सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव फागुन ७ गते सम्म संचालन हुने छ । महोत्सवमा महिला शसक्तिकरण सम्वन्धि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । भने राष्ट्रिय महिला भलिवल प्रतियोगिता र भजन, रत्यौली लगायतका प्रतियोगिताहरु रहेका छन् ।