
पर्वत– ६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक स्यामु अर्याल पुरस्कृत हुनुभएको छ । उहाँलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै दिवसको अवसरमा पुरस्कृत गरेको हो ।
दिवसको अवसरमा पोखरामा आयोजित समारोहमा प्रहरी नायब उपरिक्षक अर्याललाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले कदरपत्र र नगद पुरस्कार सहित सम्मान गर्नुभएको थियो ।
अर्याल पर्वतमा सरुवा भएर आएपछि समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान र सवारी दुर्घटना न्यूनिकरण, लागु औषध ओसारपसार नियन्त्रण तथा जनचेतनामुलक कार्यक्रमहरु सफलतापूर्वक सम्पादन गरेको भन्दै कदरपत्रले सम्मान गरिएको हो । उहाँ जिल्लामा आएपछि समग्र शान्ति सुरक्षा समेत प्रभावकारी बन्दै गएको छ ।
पुरस्कृत भएपछि प्रतिकृया दिँदै अर्यालले जिल्लाको शान्ति सुरक्षा लगायतका क्षेत्रमा प्रभावकारी कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेकोमा खुसी व्यक्त गर्दै कार्य सम्पादनमा थप हौसला मिलेको बताउनुभयो । उहाँले आफु यो सेवामा रहुन्जेल न्याय सम्पदनमा शुन्य सहनशिलताको नितिमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा मुख्य मन्त्री गुरुङले नेपाल प्रहरी विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको शंकटपूर्ण अवस्थामा पनि देश र जनताको सेवामा अनवरत रुपमा तल्लिन रही कार्यसम्पादन गर्दै आईरहेको प्रति उच्च प्रसंसा गर्दै गण्डकी प्रदेश प्रहरी देश मै नमूना प्रहरीको रुपमा विकास भईरहेको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले अमर प्रहरी प्रति श्रद्धा सुमन व्यक्त गर्दै सहिदहरुले देखाएका सपनालाई साकार पार्न सबैजना मिलि हातेमालो गर्दै दण्डहिनता अन्त्यका लागि अथक प्रयास गर्नुपर्ने कुरा बताउँनुभयो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले नागरिक मैत्री सुरक्षित वातावरण, कानूनको सर्वोच्चता र जनताको सर्वोपरिता, संगठित अपराध नियन्त्रण र अनुसन्धान जस्ता जटिल कार्यहरु प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै सवैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
त्यसैगरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी निरिक्षक राजन रायमाझी पनि पुरस्कृत हुनुभएको छ । जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने रायमाझी लगायतका चार पाँच जनालाई पुरस्कृत गरिएको हो ।