पर्वतमा भूकम्पपिडीतको निजी आवास निर्माण सुस्त , तेस्रो किस्ता बुझ्ने डेढ सय मात्र - News site from Nepal

पर्वत/पर्वतमा विनाशकारी भूकम्पबाट पुर्णक्षति भएका निजी आवास निर्माण कार्यले गति लिन लिन नसकेको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ पर्वतले आयोजना गरेको पुननिर्माण जिल्ला समन्वय समितिको दोस्रो बैठकमा अझै पनि पुन निर्माणले गतिलिन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका हुन । चैत्रको अन्तिम साता सम्म मापदण्ड अनुसार निजी आवास सम्पन्न गरेर तेस्रो किस्ता अनुदान बुझ्नेको संख्या डेढ सय मात्रै पुगेको छ ।
बैठकमा दिएको जानकारी अनुसार मापदण्ड अनुसार निजी आवास पुरा गरि तेस्रो किस्ता अनुदान लिने लाभग्राहीको संख्या जम्मा १ सय ५४ पुगेको हो । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका ५ हजार २ सय ६९ जना रहेका छन । २ हजार ४ सय ३४ जनाले दोस्रो किस्ता बुझिसकेका छन् । ४ हजार ८ सय ९१ जनाले पहिलो किस्ताको रकम बुझेका थिए ।
आयोजनाका अनुसार सबैभन्दा बढी मोदी गाउँपालिकामा ४९ जनाले तेस्रो किस्ता बुझेका छन भने कुस्मा नगरपालिकामा र जलजला गाउँपालिकामा २८, २८ जनाले तेस्रो किस्ता बुझेका छन । भूकम्पले सबैभन्दा बढी क्षति पुगेको बिहादी गाउँपालिकामा २५ जना दोस्रो धेरै क्षति पुगेको पैंयु गाउँपालिकामा २ जनाले मात्रै अनुदान बुझेका छन । फलेबास नगरपालिकामा ७ जना र महाशिला गाउँपालिकामा १५ जनाले अनुदान बुझेका छन ।
तेस्रो किस्ताका लागि रकम माग गरेपनि मापदण्ड पुरा नगरेका ४ सय ५३ जना लाभग्राहीलाई संरचना सुधारका लागि पठाइएको छ । त्यसमध्ये ३ सय ४१ जनाले मापदण्ड सुधारको चरणमा रहेका र १ सय १२ भूकम्पपिडीतका संरचना सुधार गर्न नसक्दा तेस्रो किस्ता अनुदान पाउनबाट बञ्चित भएका छन ।
आयोजना प्रमुख रामाशिष साहका अनुसार धेरै निजी आवास निर्माण सम्पन्न भएपनि मापदण्ड पुरा गर्न नसकेका कारण तेस्रो किस्ता दिन नसकिएको हो । ‘धेरै घर सम्पन्न भएका छन तर प्राधिकरणको भूकम्प प्रतिरोधी मापदण्ड पुरा गर्न सकेका छैनन।’ उहाँले भन्नुभयो ‘मापदण्ड पुरा नगरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीलाई मापदण्ड पुरा गरेर आउन आग्रह गर्दै फाइल फिर्ता पठाएका छौ ।’
बैठकमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुननिर्माणको काम तीब्र गतिमा सक्न र पिडीतहरुलाई सुरक्षित ढंगले आवासमा बस्ने ब्यबस्था मिलाउन निर्देशन दिनुभयो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डां चन्द्र श्रेष्ठले पछिल्लो केही समय प्राबिधीकको आन्दोलनका कारण समस्या भएपनि उनीहरुका माग सम्बोधनका क्रममा रहेकाले पुननिर्माणले गति लिने बिश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!