पर्वत– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी फागुन २१ गतेभित्रै सवै तहका लागि आवश्यक कानून निर्माण भैसक्ने बताउनुभएको छ ।
पर्वतको सदरमुकाम कुश्माबजारमा आयोजित गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको आइतवार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संविधानले व्यवस्था गरेका सवै कानून र ऐनहरु बनिसकेको बताउँदै संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐन कानून पनि अहिले द्रुत गतिमा निर्माण भैरहेको बताउनुभयो । तिमिल्सिनाले अब एक महिना मात्रै धैर्य गर्न आग्रह गर्दै त्यसपछि कानून र ऐनको अभावमा कुनैपनि तहले काम गर्नबाट रोकिनु नपर्ने बताउनुभयो । उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाले अहिले धमाधम स्थानीय र प्रदेशकै लागि आवश्यक कानूनहरु बनाईरहेको पनि जानकारी दिनुभयो ।
लामो समयपछि मुलुकले स्थिर सरकार पाएको बेलामा मुलुकको समृद्धिका लागि काम गर्न कुनैपनि कठिनाई र बाधा उत्पन्न नहोस् भनेर नै सवैजसो कानूनहरु सम्पन्न गर्ने तयारीमा सदनका बैठकहरु नियमित बसिरहेको बताउनुभो । उहाँल कानून निर्माण भैसकेपछि तीनवटै तहका सरकारले विकासको गतिलाई तिब्रता दिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले मुलुक नयाँ संरचनाबाट अघि बढिरहेको बताउँदै अब यसवाट पछि फर्किनु भन्दा पनि यिनीहरुको विकास र समृद्धिबाट सिंगो मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
अर्को प्रसंगमा अध्यक्ष तिमिल्सिनाले संविधानले महिलाहरुलाई पुर्ण अधिकार दिएको बताउँदै अब राज्यले अधिकार नदिएर पछि परियो भन्ने अवस्था नरहेको बताउनुभयो । उहाँले अब आरक्षण हैन खुल्ला प्रतिस्पर्धाबाटै राज्यका महत्वपुर्ण स्थानमा पुग्ने आँट र साहस महिलाहरुले बोक्नुपर्नेमा जोड समेत दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले आगामी पाँच वर्ष भित्रमा पर्वतको विकासले कोल्टे फेर्ने बताउनुभयो । उहाँले जिल्लाका ६१ वटै वडामा कालोपत्रे सडक पुग्ने तथा नागरिकका आधारभूत आवश्यकताहरु परिपुर्ति हुनेमा विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नागरिकहरुको आर्थिक विकासमा सरकार केन्द्रित रहेको बताउनुभयो । उहाँले अब डलरको दरमा नागरिकहरुको आर्थिक विकास गर्नेगरी सरकारले काम गरेको बताउँदै पर्यटन, जल, जमिन, उर्जा र बनजंगलको एकीकृत उपयोगबाट मात्रै समृद्धि सम्भव रहेको बताउनुभयो । मन्त्री लम्सालले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताउँदै त्यसलाई सफल बनाउनका निम्ति हरेक नागरिकहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशलाई मुलुककै नमुना प्रदेशको रुपमा विकास गरिने बताउँदै कतिपय कानूनको अभावमा अहिलेपनि काम गर्न नसकिएको र अब फागुन २१ पछि दिन दोगुना र रात चौगुनाको दरले विकास गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले अहिलेको जस्तो बलियो सरकार इतिहासमै मुलुकले नपाएको बताउँदै सरकारलाई कुरा भन्दा पनि काम गरेर देखाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारी, प्रदेश सभा सदस्य जुनादेवी नेपाली, परराष्ट्र मन्त्रालयका सचिब शंकरदास बैरागी, त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका उपाध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, नेपाल प्रहरीका पूर्व डिआइजी ज्ञानेन्द्र विक्रम महत, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, यातायात व्यावसायी महासंघ नेपालका महासचिब सरोज सिटौला, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिब गणेश पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतल लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा पर्वत जिल्लामा जन्मिएर मुलुकका विशिष्ट श्रेणीमा पुग्नेहरुलाई सम्मान पनि गरिएको थियो । भने राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन गरिएको थियो ।
महोत्सव दश दिनसम्म संचालन हुने छ । महोत्सवमा विभिन्न आकर्षणहरु रहेका छन् भने भोलिदेखि विभिन्न कलाकारहरुको प्रस्तुती समेत रहेको छ । रेडियो दिदीबहिनीका अध्यक्ष कल्पना चापागाईको अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमको संचालन दुर्गा अधिकारी र विष्णु गौतमले गरेकि थिईन । यस अघि झण्डै चालिसवटा विभिन्न समुहले सदरमुकाममा झाकि र ¥याली प्रदर्शन गरेका थिए ,