प्रमुख समाचार

गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आजदेखि, यस्ता छन् आकर्षणहरु

By लोकतन्त्र अनलाईन

February 10, 2019

पर्वत ः पर्वतमा हुन लागेको ११ औँ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव आजदेखि शुरु हुने भएको छ । गत शुक्रवारदेखि शुरु हुने भनिएको महोत्सव बिहीवार बिहानदेखि मौसममा आएको खराबीका कारण रोकिएको थियो । केहि दिनसम्म लगातार पानी पर्ने चिसो बढ्ने र हिउँसमेत पर्ने मौसमबिद्ले बताएपछि तीन दिन पछि सारिएको र आजदेखि नियमित रुपमा कार्यक्रम शुरु हुने आयोजक रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले बताउनुभयो । महोत्सवको आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको सवैजसो तयारी पुरा भएको भएपनि एक्कासी मौसममा आएको खराबीले रोक्नुको विकल्प नभएको उहाँले बताउनुभयो । उहाँले महोत्सव अन्तर्गतको रक्तदान कार्यक्रम भने गत बिहीवार सम्पन्न भएको बताउनुभयो । महोत्सव आजदेखि फागुन ७ गते सम्म संचालन हुने छ । यस बर्ष तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका साथै प्रथम दिदीबहिनी डान्स आईडल, खुल्ला दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाँकी प्रदर्शन प्रतियोगिता, जनप्रतिनिधि र संचारकर्मीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरु रहेका छन् । सवै कार्यक्रमहरु खुल्ला चौरमा गर्नुपर्ने भएकाले मौसमले असर गरेको हो । अब माघ २७ गतेदेखि फागुन ७ गतेसम्म संचालन गर्ने तयारी गरिएको छ । महोत्सवमा गायकहरु प्रमोद खरेल, मेलिना राई, पशुपति शर्मा, ज्योती मगर, प्रिती आले, बसन्त थापा, कुलेन्द्र बि.क., प्रकाश सपूत, कृष्ण अखेली लगायतको सांगितिक प्रस्तुतीहरु रहनुका साथै भिटेन ब्याण्डको लाईभ कन्सर्ट हुने भएको छन् । अध्यक्ष चापागाईँका अनुसार महोत्सवमा पर्वत जिल्लामा जन्मिएर राष्ट्रको महत्वपूर्ण सेवामा पुगेका ब्यक्तिहरु, जेष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला तथा अपांगता भएकाहरुलाई सम्मान गर्नुका साथै बाल उद्यान र रमाईलो मेला समेतको आयोजना गरिने छ । यस बर्षको महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र तृतिय पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ । यस्तै, डान्स आईडलको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजार राखिएको छ । यसैगरी, खुल्ला दौड प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार १० हजार राखिएको छ । यस्तै, ¥याली तथा झाँकी प्रतियोगिताको प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार १२ हजार रुपैयाँ रहेको छ भने रत्यौली गीत प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार १० हजार रुपैया रहेको छ । उहाँका अनुसार यस बर्ष महोत्सवको आकर्षण बढाउनको लागि ऊँट पनि ल्याउन लागिएको छ ।