पर्वतको आर्थर डाँडाखर्कको गुरुङ समुदायका पाका पुस्तामा भाषाको चिन्ता - News site from Nepal
पर्वत — युवा पुस्ता गाउँमा बस्दैनन् । सबै सहरबजार झरे । चाडबाड र गाउँमा मेलामहोत्सव हुँदा एक–दुई दिन गाउँ आउने युवा पुस्ताले गुरुङ भाषा बुझ्छन् । उनीहरूले राम्रोसँग फर्काउन भने जान्दैनन् । सहरबाट बाबुआमासँग गाउँ आएका केटाकेटी भाषा सुनेर ट्वाल्ल पर्छन् ।
सहर मात्रै होइन, गाउँकै विद्यालयमा पनि मातृ भाषामा पढाइ हुँदैन । यही विषयले कुश्मा–१४ का ७८ वर्षीय अतिप्रसाद गुरुङलाई पिरोल्छ । भाषा र गुरुङको जातीय संस्कारबारे नयाँ पुस्तालाई खासै चासो छैन । गाउँमा बूढाबूढी मात्रै बस्छन् । उनीहरूलाई भाषा संरक्षण गर्नुपर्छ भन्ने ख्याल छैन ।

‘आवश्यक पर्दा बोलिन्छ,’ स्थानीय ओमकार गुरुङले भने, ‘भाषा जोगाउनकै लागि भनेर लागिपरेका कोही छैनन् । केटाकेटीलाई भाषा सिकाउनैपर्छ भनेर लागिएको पनि छैन ।’ चाडबाड र मेलापर्वका अवसरमा गाउँ आउनेलाई भाषाबारे चिन्ता छैन । ‘भाषा लोप हुन्छ नै भन्ने त लाग्दैन,’ पोखरा बस्दै आएका पूर्वविद्यार्थी समाजका अध्यक्ष मनोज गुरुङ भन्छन्, ‘गाउँमा बस्ने घट्दै गएकाले खाली हुने चिन्ता सबैलाई हुन्छ ।’

गाउँमा बस्नेले भाषा र संस्कृति जोगाउन र संरक्षण गरिराख्नका लागि पहल नगरेका भने होइनन् । गुरुङ समुदायकै अगुवाइमा पञ्चकोसी होमस्टे सञ्चालन गरेका छन् । १९ घरमा सञ्चालित होमस्टेमा आउने पाहुनालाई गुरुङ भाषाका शब्दहरूबारे होमस्टे सञ्चालकले बेलाबेलामा वर्णन गर्छन् । ‘कतिपयले चाख मानीमानी हामी बोलेको सुन्छन्,’ होमस्टे सञ्चालक बनिकुमारी गुरुङले भनिन्, ‘केहीले अनौठो मानेर सोध्छन् । हामीले नेपाली भाषामा वर्णन गर्छौं ।’

त्यसबाहेक होमस्टेमा आउने पाहुनालाई गुरुङ भाषामै रोदी, यानीमायाँलगायतका गीतहरूले स्वागत गर्ने उनले बताइन् । ‘त्यतिले मात्रै हाम्रो भाषा जोगिन्न,’ पञ्चासे आमा समूहकी अध्यक्ष विष्णुकुमारी गुरुङले थपिन्, ‘अगुवा जाग्नुपर्छ । केटाकेटीलाई स्कुलमा पनि हाम्रो भाषा पढाउन लगाउनुपर्छ । बेलाबेला तालिम चलाउनुपर्छ ।’

गुरुङ भाषा र स्थानीय संस्कृति सिकाउने तालिम आमा समूहले नगरपालिकामा माग गरे पनि चासो नदिएकोमा उनलाई चिन्ता छ । ‘पहिला अहिलेजस्तो स्कुल थिएन । सहरबजार जाने चलन थिएन । यताउता सबैतिर गुरुङ भाषामै बोलिन्थ्यो,’ आमा समूहकी सचिव यामकुमारी गुरुङले भनिन्, ‘अहिले सबै बाहिरी सहनसहनले ढपक्कै ढाक्यो । अब हामी बोलेको पनि कसैले सुन्दैनन् ।’ पढे–लेखेकाहरूले पनि गुरुङ भाषामा बोल्ने अभ्यास नगर्दा भाषा नै लोप हुने चिन्ता लागेको उनले बताइन् ।

संविधानले मातृभाषाको हकको ग्यारेन्टी गरेको छ । संविधानको धारा ३१ को उपधारा ५ अनुसार नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ । तर, पर्वतको आर्थरमा मात्रै होइन, अरू गाउँमा बसोबास गर्ने गुरुङ तथा मगर समुदायले आफ्नो मातृ भाषामा अध्ययन गर्ने अधिकार पाएका छैनन् ।

गुजुमुज्ज परेको गाउँको बीचमा कक्षा १२ सम्म पढाइ हुने पञ्चकोसी मावि छ । गाउँबाट बसाइ सरेका गुरुङ समुदायकै अधिक सहयोगमा सञ्चालित विद्यालयमा समेत भाषाबारे कसैले चासो राख्दैनन् । गुरुङ बस्तीको बीचमा विद्यालय भएर पनि उक्त समुदायका बालबालिका न्यून छन् । विद्यालयका प्रधानाध्यापक प्रकास सापकोटाका अनुसार २ सयमा ३० मात्रै गुरुङ समुदायका विद्यार्थी छन् । ‘अहिलेसम्म गुरुङ भाषामा पढाउनुपर्छ भनेर माग आएकै छैन,’ सापकोटाले भने, ‘पाठ्यक्रम भए पढाइन्थ्यो । न माग छ । न पाठ्यपुस्तक ।’ उनले हालसम्म भक्तपुरलगायतका केही नगरपालिका बाहेकले स्थानीय भाषाको पढाइ थालेको जानकारी

नभएको बताए ।

गुरुङ जाति इसापूर्व २४६ देखि २१० सम्म चीनबाट नेपाल प्रवेश गरेको इतिहासकारका पुस्तक तथा आलेखबाट जानकारी पाउन सकिन्छ । लेखक डीबी गुरुङको ‘तमू क्योए दे प्यक्ष्या’ पुस्तकको समीक्षा गर्दै टिप्पणीकार रामरञ्जन पौडेलले गुरुङ जाति चीनको हुण जातिको महापरिवारबाट इसाको छैटौं शताब्दीमा नेपाल पसेको बताएका छन् ।

नेपालको विशेषगरी पश्चिम क्षेत्रमा बसोबास गर्ने गुरुङमध्ये पर्वतको आर्थरमा करिब तीन सय परिवारको बसोबास छ । सोही टिप्पणीअनुसार कालान्तरदेखि मौखिक रूपमा चल्दै आएको यो भाषाको धर्मसंस्कृति लेख्य परम्परा नभएकै कारण लोप हुँदै आएको छ

कान्तिपुर दैनिकवाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!