
पर्वत– लामो समयदेखि विवादीत बन्दै आएको कालीगण्डकी नदि उत्खनन्लाई व्यवस्थित बनाउन बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सांसद सुर्य पाठकले आवाज उठाएपछि पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि खनिएका छन् ।
सांसद पाठकले प्रतिनिधिसभा र केहि सञ्चार माध्यममा नदि उत्खननन्को विषयलाई लिएर अभिव्यक्ति सार्वजनिक गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पाठकको चर्को बिरोध भएको हो ।
जलजलामा क्रसर व्यावसाय गर्दै आएका विप्लब हमालले सांसद पाठकलाई गरेर खाएको रिस नगर्न चेतावनी दिएका छन् । उनले बगेर गएको वालुवालाई सदुपयोग गरेर विकास निर्माणमा सहयोग गर्न आग्रह गर्दै हाबा कुरा गरेको आरोप लगाएका छन् । हमालले आफु जुनसुकै फोरममा बार्ता गर्न तयार रहेको बताउँदै पञ्चायतकालमा प्रधापञ्च भीमनाथको हत्या भएजस्तो व्यावसायीको हत्या गर्न नखोज भन्दै चेतावनीयुक्त भाषामा आक्रोस पोखेका छन् ।
त्यसैगरी जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङका वडा अध्यक्ष हरिबिकास जिसीले सुर्य पाठक जस्तो सांसदले कालीगण्डकी दोहन भनेर बारम्वार संसदमा आवाज उठाउँदा पनि किन रोकिएन भन्ने कुराको तथ्य बुझ्न आग्रह गरे । उनले कालीगण्डकीको विकल्प खोज्न चेतावनी दिँदै सके उत्खनन् रोक्न चेतावनी दिएका छन् ।
जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल वैदेशिक भ्रमणका लागि अमेरिका गएका बेला कालीगण्डकी उत्खनन्को विषय चर्किएको हो ।
यस अघि गाउँपालिकाले भदौ १५ सम्म उत्खनन् गर्न रोकेको भएपनि साउन अन्तिमबाटै ठाउँठाउँमा बालुवाका पहाड उठेका थिए । सांसद पाठकले कालीगण्डकीको अस्तित्व नै समाप्त हुने गरी मध्यरातमा डोजर र स्काभेटर लगाएर दोहन भैरहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए ।
उक्त समाचारपछि जिल्लामा रहेको अनुगमन समितिले पनि अनुगमन गरेको थियो । तर अनुगमन समिति हात्तिको देखाउने दाँतजस्तै बनेको सरोकारवालाहरुको आरोप रहेको छ ।