
पर्वत – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र समानत धर्म बचाउने भन्दै मुस्ताङ देखि थालेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आइतवार पर्वतको कुश्मामा आईपुगेको छ ।
यात्राका क्रममा आयोजित आमसभामा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्र र गणतन्त्रको वकालत गर्नेबाटै बिखण्डन र बर्बादीको संकेत देखिएको बताउनुभएको छ । गणतन्त्रको घोषणापछिको १३ बर्षमा नेपालले भ्रष्टाचार, गरिवी, बेरोजगारी, धर्ममाथीको आक्रमण र बिखण्डनको खतरा व्यहोर्नु परेको बताउनुभयो । साथै उनले बिद्रोहको पुर्नउत्थान समेत भैसकेको बताउनुभयो । बर्षेनी ४ लाख ४५ हजार युवा बिदेशिएको सरकारी तथ्यांकले देखाएको भन्दै लोकतन्त्र र गणतन्त्रको वकालतले जनता झन पिडित भएको टिप्पणी गर्नुुभयो ।
आफ्नो पार्टीले कसैलाई गाली गर्न र सरकार बिरोधी अभियान चलाउन नभई जनतालाई जागरण गराएर सनातन धर्म बचाउने अभियानमा हिडेको पनि बताए । ‘मैले भोट माग्न खोजेको होइन, म देश र संस्कृति बचाउन भनेर हिडेको हुँ’ उहाँले भन्नुभयो, ‘जनताले चाहना राखे भने भोली हामी हिन्दु राष्ट्र घोषणा गरेर सरकारमा पनि जानेछौं ।’ लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चिएको उहाँको दावी थियो ।
वाइडवडी जहाज खरिद प्रकरण, एनसेलको करछली, सुन तस्करी, वालुवाटारको भूमाफिया काण्डमा सरकार र प्रतिपक्ष मौन रहनुमा रहस्य रहेको भन्दै उनले दलहरुको नियत माथी खोट भएको आरोप पनि लगाए । धर्म र संस्कृति माथि आक्रमण बढ्दा सत्ता र प्रमुख प्रतिपक्ष टुलुटुलु हेरेर बसेको उहाँले आरोप लगाउनुभयो । ईशाईकरण मार्फत नेपालको सनातन धर्म खरिद बिक्री भएको उहाँको आरोप छ । सिके राउतलाई राजनीतिको मुल धारमा ल्याउने बहानामा सरकार समेत बिखण्डनालाई संस्थागत गर्न लागेको र लोकतन्त्रको आवरणमा सर्वसत्तावाद लाद्ने काम शुरु भएको उनले टिप्पणी पनि गर्नुभयो ।
कर्याक्रममा राप्रपाका केन्द्रिय सदस्य इच्छाबहादुर गुरुङ्ग, प्रदेश नम्वर ४ का सदस्य ठाकुर भुसाल लगायतले बोल्नुभएको थियो ।