प्रमुख समाचार

तीब्र गतिमा गण्डकीको पूर्वाधार विकास : ११ अर्बमा ६० करोड खर्च, पर्वतको मोदीवेणी–कुश्मा सडक सम्पन्न

By लोकतन्त्र अनलाईन

February 09, 2019

पर्वतः बजेट कार्यान्वयन नै गर्न नसकेको आरोप खेपिरहेको गण्डकी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिमसम्म सबै बजेट खर्च हुने तथ्यांकसहित दाबी गरेको छ ।२४ अर्ब २ करोड ३३ लाखको बजेट तर्जुमा गरेको गण्डकी प्रदेश सरकारले सबभन्दा बढी भौतिक पूर्वाधार बिकासमा छुट्याएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा १० अर्ब ७५ करोड बजेट छ । पूर्वाधार निर्माणका लागि धमाधम बोलपत्र आहृवान भएको र ६० करोड रुपैयाँ खर्च भइसकेको भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको दाबी छ । २०७४ माघ २८ गते स्थापना भएको भौतिक मन्त्रालय मातहत विभिन्न निर्देशनालय र कार्यालय गरी २९ निकाय छन् । ती सबैमा ३१० कर्मचारी छन् । यी प्रशासनिक संरचना बनाउन मंसिरसम्म लागेको र त्यसयता धमाधम टेन्डर आहृवान र ठेका सम्झौता भइरहेको मन्त्री बस्नेतको दावी छ । यो रफ्तारमा काम गर्र्दा आर्थिक वर्षको अन्त्यसम्म बजेट नसकिने होइन, अपुग नै हुने मन्त्री बस्नेतले बताए । उनले भने, ‘संघीय सरकारबाट हस्तान्तरित सडक, सिँचाइ, खानेपानी, भवन जस्ता क्षेत्रमा हालको ४ अर्ब ४२ करोड अपुग हुने देखेर केन्द्र सरकारको अर्थ मन्त्रालयसँग थप ४ अर्ब १४ करोड रकम माग गरेका छौं ।’ २१६ सडकको बोलपत्र आहृवान गण्डकी प्रदेश सरकारले ८२३ वटा सडक बनाउँदैछ । पर्वतमा प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजित मोदीवेणी–कुश्मा सडक सम्पन्न भइसकेको छ । उपभोक्ता समितिमार्फत निर्माण भएको उक्त सडक तोकिएकै समयमा सम्पन्न भएको अध्यक्ष मेघनाथ सुवेदीले जानकारी दिनुभयो । अहिले उक्त सडकको मुल्यांकन गर्न थालिएको छ । अन्य सडकको काम भने सुरु हुँदै छ ।गण्डकी प्रदेशमा एक निर्वाचन क्षेत्र एक सडक निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रम छ । ३६ वटा निर्वाचन क्षेत्रमा बन्न लागेका सडकमध्ये ७ वटाको बोलपत्र आहृवान भइसकोको छ भने २९ वटाको लागत अनुमान स्वीकृतिको चरणमा छ । अर्को प्राथमिकताको प्रादेशिक सडकसलाई क, ख र ग वर्गमा वर्गीकरण गरिएको छ । क वर्गमा परेका ११ वटा प्रादेशिक सडकमध्ये एउटाको बोलपत्र आहृवान भइसकेको छ भने बाँकी सडकको लगत अनुमान स्वीकृतिको चरणमा छ । ख वर्गको प्रादेशिक सडक ५३ वटा र ग बर्गका १०५ वटा छन् । ख बर्गका ४५ वटा सडकको बोलपत्र आहृवान भइसकेको जानकारी मन्त्री बस्नेतले दिए । ५२२ वटा खानेपानी आयोजनाको सम्झौता गण्डकी प्रदेश सरकारले २ वर्ष्भित्र सबैका घरमा खानेपानी र्पुयाउने लक्ष्य राखेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथको बेला घोषणा गरेको खानेपानी योजनालाई नीति तथा कार्यक्रममा समाबेस गरिएको छ । यो लक्ष्य प्राप्तिका लागि ५२२ वटा योजनाको निर्माण सम्झौता भइसकेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधारमन्त्री बस्नेतले बताए । उनका अनुसार, हालसम्म ५२२ वटा खानेपानी योजनाको सम्झौता भएर काम अघि बढिसकेको छ । कास्की, गोरखा र बागलुङमा रहेका सहरी विकास तथा भवनका कार्यालयहरु मार्फत बहुउद्देशीय सभाहल, स्याटालाइट सिटी, प्रादेशिक सरकारी भवन मर्मत सम्भार, जनता आवाश लगायतका कार्यक्रम अगाडि बढाएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘अब निरन्तर विकास बजेट खर्च हुनेमा ढुक्क भए हुन्छ ।’