पर्वतको जलजलाले गौ महोत्सवलाई चालीस लाख दिने, हालसम्म सवा करोड संकलन - News site from Nepal

पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा जारी गौमहोत्सवको चौथो दिन जलजला गाउँपालिका र विभिन्न वडा कार्यालयबाट गौशालाको पूर्वाधार विकासमा ५८ लाख पचास हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गाउँपालिकाको तर्फबाट ४० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुृभयो ।

साथै वडा नम्बर ४ का अध्यक्ष भिष्म मल्लले पाँचलाख,८ नाग्लीबाङका अध्यक्ष हरिविकास जिसीले पाँचलाख र ७ नम्बर वडा कार्यालय धाइरिङका अध्यक्ष टुंगनाथ आचार्यले ६ लाख रुपैयाँ भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कुस्मा नगरपालिका ८ नम्बर वडाका अध्यक्ष राजकुमार क्षेत्रीले वडा कार्यालयबो तर्फबाट एकलाख, म्याग्दीको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरपालिकाकाको तर्फबाट एकलाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको महोत्सव मुल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिनुभयो ।

यसै गरी म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाको तर्फबाट पचास हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली काँग्रेस पर्वतका उपाध्यक्ष दुर्गाबहादुर खत्रीले ५१ हजार ५१ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महोत्सवको चौथो दिन महोत्सव मुल आयोजक समितिका अध्यक्ष समेत रहनुभएका राजुप्रसाद आचार्य,मिभप्रसाद आचार्य,कलाधर आचार्य उहाँको माता प्रेमकुमारी आचार्यले स्वर्गीय बुबा टंकप्रसाद आचार्यको स्मृतिमा १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरी सभामहानायक बन्नुभएको छ ।  महोत्सवको चौथो दिन सम्म आइपुग्दा करिब सवा करोड रुपैयाँ नगद सकंलन भएको सचिवालयले जनाएको छ ।

वैदिक गाईको संरक्षण गरी धार्मिक धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गण्डकी गौपाल गौशालाको आयोजनामा मंसिर २६ गते सम्म सञ्चालन हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंसिर १९ गते उद्घाटन गर्नुभएको थियो । गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका महासचिव आचार्यले बताउनुभयो ।

गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । महोत्सवमा स्वामी कमलनयनाचार्य लगायत पण्डितहरुले धार्मिक प्रवचन गरिरहनुभएको छ ।

स्वामी आचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!