महाधिवेशन कहिले गर्ने भन्ने विषयले कांग्रेसमा किचलो - News site from Nepal
महाधिवेशन कहिले गर्ने भन्ने विषयले कांग्रेसमा किचलो

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४औं महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएको छ।
पार्टी विधानको व्यवस्थाअनुसार चार वर्षभित्रै १४औं महाधिवेशन हुनुपर्ने भन्दै केन्द्रीय समितिको पहिलो अजेन्डा महाधिवेशन हुनुपर्ने असन्तुष्ट पक्षको अडानपछि शीर्ष नेताहरुबीच विवाद उत्पन्न भएको हो ।
नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले बैठकको मुख्य अजेन्डा नै महाधिवेशन र त्यसको तयारी हुनुपर्ने अडान राखेपछि आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ औचारिकता दिएर सकिएको छ।
पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच लामो छलफलपछि साँझ १४बुँदे अजेन्डा तयार गर्दै केन्द्रीय समितिको बैठक स्थगित भएको छ। चैत ५ गतेपछि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको विषयले प्रवेश नपाए सहभागी नहुने अडान असन्तुष्ट पक्षले राखेपछि बैठक बस्न ढिला भएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
शीर्ष नेताबीच लामो छलफलपछि असन्तुष्ट पक्षको माग समेट्दै केन्द्रीय समितिको १४बुँदे अजेन्डा तय भएको छ। उक्त अजेन्डालाई केन्द्रीय समितिको बैठकमा पेस गरेर आइतबारको बैठक स्थगित भएको छ। पार्टी नियमावलीसहित अन्य विषयमा अध्ययनका लागि समय दिने भन्दै असार २७ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ।
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टी नियमावली र संक्रमणकालीन व्यवस्थाअनुसार संरचनाहरु गठनपछि १४औं महाधिवेशनको प्रक्रिया सुरु गर्नेसहितका १४बुँदे अजेन्डा तय गरेको जानकारी दिए। ‘शीर्ष नेताहरुबीचको छलफलमा लामो समय लागेकाले आज (आइतबार) को बैठकमा अजेन्डामात्र पेस भयो,’ घिमिरेले भने, ‘२७ गतेको बैठकमा सबै विषयमा छलफल हुँदै जानेछ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!