
पर्वत–जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेका चार युवालाई पोखराबाट पक्राउ गरेको छ ।
पुष ६ गते राती मोदी गाउँपालिका–२ पातिचौर स्थित सुविना ढकाल चापागाईँको घरमा चोरी गरेका ४ जनालाई पोखराबाट पक्राउ गरी सोमवार पर्वतमा सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा पर्वतकै पर्वत मोदी गाउँपालिका–३ घर भई हाल कास्की वस्ने राजेश वि.क, रुकुमको उत्तरगंगा गाउँपालिका–४ बस्ने बावु वुढामगर, कास्कीको पोखरा लेखनाथ महानगरपालिका १३ वस्ने रन्जु कुमार सुनार र सुन्दर बि.क रहेका छन । घट्ना लगत्तै उनीहरुको खोजीमा लागेको प्रहरीले गएको पुष २० गते उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले चापागाईको घरमा रहेको दराज फोरेर साढे एक तोलाको सुनको माला एक थान, दुई तोलाको सुनको वाला एक थान, सुनको औँठी एक थान, २ ओटा घडी, २ ओटा पन्चरत्ने वाला र नगद रु.६४ हजार रुपैयाँ चोरी गरेका थिए ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानपछि पर्वत जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।