सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६९ हजार ५ सय - News site from Nepal
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६९ हजार ५ सय
काठमाडौः  सुनको मूल्य बुधबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको छ।
हिजो ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतबार ६६ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको सुन त्यस यता तीन दिनमा तोलामा ३२ सय रुपैयाँले वृद्धि भएको हो। बुधबार छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो अहिलेसम्मकै उच्च मूल्य हो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको प्रभाव नेपालमा पनि परेको छ। अर्कातिर अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरुको भनाई छ ।
त्यसैगरी कश्मीर मुद्दामा भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत हुँदा सुनको भाउ महँगो भएको हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २७ डलरले बढेको छ। मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतिऔँस १४ सय ८६ डलर पुगेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!