
पर्वत– गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले अबको शिक्षा प्रविधियुक्त र गुणस्तरीय हुनुपर्ने बताउनुभएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेको हिमालय माविको पर्खाल शिलन्यास गर्दै मन्त्री लम्सालले परम्परागत शिक्षाका कारण मुलुकमा बेरोजगारीको संख्या बढ्दै गएको बताउँदै अब विद्यालय तहबाटै प्रविधियुक्त र व्यवाहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको गुणस्तर अहिलेपनि सन्तेषजनक नरहेको बताउँदै शिक्षक, अभिभावक र विद्यार्थीहरुको जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री लम्सालले अहिलेपनि निजि बिद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण बढेको बताउँदै सामुदायिक विद्यालयले पनि गुणस्तर सुधार गर्न सकेमा सामुदायिक विद्यालयहरुमा पनि विद्यार्थीको आकर्षण बढ्ने बताउनुभयो । प्रदेश सरकारले पनि गाउँ गाउँमा नमुना विद्यालय निर्माण गर्नका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरेको पनि बताउनुभयो । उहाँले उक्त विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
अर्को प्रसंगमा मन्त्री लम्सालले दुई तिहाई बहुमत प्राप्त नेकपाको स्थायी सरकारले जनताका अपेक्षाहरु त्यत्तिकै मर्न नदिने बताउनुभयो । उहाँले नेकपाले मुलुकको विकास गर्ला भनेरनै जनताले बहुमत दिएका हुन् उहाँले भन्नुभयो–‘पाँच वर्षमा मुलुकको परिवर्तन गरेर देखाउनुपदर्छ ।’ मन्त्री लम्सालले गण्डकी प्रदेश सम्भावनै सम्भावना भएको प्रदेश भएको बताउँदै पर्यटन र उर्जाको विकासबाट प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभयो । उहाँले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाईएको र आगामी वर्ष २० लाख पर्यटक भित्र्याउने योजनाका साथ काम भैरहेको बताउनुभयो ।
मन्त्री लम्सालले सरकारको कामप्रति आफैपनि सन्तुष्ट नभएको बताउँदै नयाँ दिशाबाट अघि बढ्नुपर्ने जरुरी रहेको बताउनुभयो । उहाँले अहिलेकै मानसिकता र कार्यशैलीले नेपाली जनताले आशा गरेर विकास र समृद्धिको सपना पुरा हुन नसक्ने बताउँदै तीनै तहका सरकारहरु नयाँ संरचनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त पर्खाल समयमै र गुणस्तरयुक्त बनाउन समेत आग्रह गर्नुभयो ।

रु २८ लाख रुपैयाको लागतमा विद्यालयको प्राङ्गणमा पक्की पर्खाल बन्न थालेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शेषराज रेग्मीले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा रु १० लाखको काम हुने र आगामी आर्थिक वर्ष पुरै काम सम्पन्न हुने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले भौतिक पूर्वाधार मात्रै बनाएर नहुने बताउँदै शिक्षाको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले राज्यको लगानी अनुसार सामुदायिक विद्यालयहरुले प्रतिफल दिन नसकेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, कुश्मा नगरपालिका वडा नं. २ का अध्यक्ष यदुनाथ बास्तोला, पूर्व अध्यक्ष हेम शर्मा लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत विद्यालयका प्रअ माधवप्रसाद रेग्मी र संचालन शिक्षक यादब बास्तोलाले गर्नुभएको थियो । सो अवसरमा विद्यालयका लागि स्कुल बसको व्यवस्था गरिदिन पनि अभिभावकहरुले माग गरेका थिए ।