एक वर्षमा जग बसाल्यौ अब धमाधम विकास निर्माण ः अध्यक्ष तिमिल्सिना - News site from Nepal

पर्वत–ः राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गएको वर्षमा मुलुकको विकास निर्माणको आधार तयार भएको बताउनुभएको छ ।
पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा निर्माण हुन लागेको नयाँ मोदी–लेखनाथ १३२ केभी प्रशारण लाईन आयोजनाको शिलन्यास गर्दै अध्यक्ष तिमिल्सिनाले यो सरकारले गएको एक वर्षमा मुलुकको विकास निर्माणको जग बसालेको बताउँदै बाँकी चार वर्षमा मुलुकको द्रुत गतिमा विकास गर्ने बताउनुभयो । मुलकको आर्थिक, भौतिक र सामाजिक विकासका लागि आवश्यक ऐन, नियम र कानूनहरु निर्माण भैसकेको बताउँदै अब भनेको काम गरेर देखाउने बेला आएको बताउनुभयो । अब हरेक क्षेत्रमा विकासले फड्को मार्ने अध्यक्ष तिमिल्सिनाको भनाई रहेको छ । उहाँले सडक, विद्युत, सिंचाई, खानेपानी लगायतका योजनाहरुलाई तीब्र गतिमा निर्माण गरेर नागरिकहरुलाई सुविधासम्पन्न बनाईने बताउनुभयो ।
अहिलेका जनप्रतिनिधिलाई काम नगर्ने दिन मात्र कटाउने अधिकार नभएको बताउँदै दुई तिहाईको बहुमतको सरकारले नागरिकको अभिमतलाई कायम राख्नका लागि पनि मुलुकको तीब्र विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अब कुनैपनि क्षेत्रहरु विकासबाट बञ्चित नहुने बताउँदै कुनैपनि योजनालाई बजेटको अभाव नहुने बताउनुभयो । उहाँले सरकारलाई आवश्यक सहयोग गर्नका लागि पनि नागरिकहरुलाई आव्हान गर्नुभएको छ ।

अर्को प्रसंगमा अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लालाई गण्डकी प्रदेशकै नमुना जिल्लाको रुपमा विकास गरिने बताउनुभयो । उहाँले हरेक दृष्टिकोणले सम्भावना बोकेको पर्वतलाई पाँच वर्ष भित्रमा नमुना जिल्लाको रुपमा विकास गरिछाड्ने बताउनुभएको हो । विद्युत, स्वास्थ्य, शिक्षा, सिंचाई, खानेपानी लगातका आधारभूत पूर्वाधारले सम्पन्न गरिने उहाँको भनाई थियो ।
रु २ अर्ब २५ करोडको लागतमा निर्माण हुन लागेको उक्त आयोजना आगामी दुई वर्ष भित्रमा निर्माण सम्पन्न हुने बताईएको छ । भारतको कल्प तारु पावर ट्रान्समिसन लिमिटेडले निर्माणको जिम्मा लिएको उक्त आयोजना निर्धारित समयमै सम्पन्न हुने बताईएको छ । यो सँगै कालीगण्डकी प्रशारण करिडोरले समेत तीब्रता पाउने भएको छ ।
पर्वतको मोदी गाउँपालिका २ देउपुर देखि कास्कीको पोखरा महानगरपालिका लेखनाथ सम्म निर्माण हुने प्रसारण लाईन ४२ किलोमिटर लामो हुनेछ । प्रसारण लाईनमा १ सय ३८ वटा टावर रहने छन ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरी, प्रदेश सभा सदस्य ललितकला गुरुङ, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, वडा अध्यक्ष विकास तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!