पर्वत जिल्ला अस्पतालमा एनआइसीयु सेवा शुरु , लायन्स क्लवद्धारा १८ लाखका सामाग्री सहयोग - News site from Nepal

पर्वत– पर्वत जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नबजात शिशुको उपचारका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
नवजात शिशुको उपचारका लागि एनआइसीयु सेवा शुरु गर्नका लागि आवश्यक मेशीन तथा उपकरणहरु सहयोग प्राप्त भएको हो । विभिन्न विदेशी दाताको सहयोगमा लायन्स क्लव अफ सामाखुसि काठमाण्डौको संयोजन तथा पर्वत जिल्लाका ८ वटा लान्यस क्लवहरुको पहलमा आवश्क उपकरणहरु शुक्रवार जिल्ला अस्पताल पर्वतमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको छ ।
५० शैया क्षमताको रुपमा विकास हुन लागेको पर्वत अस्पतालको सेवालाई प्रभावकारी बनाउन र विपन्न, तथा असहाय परिवारमा जन्मिएका बालबालिकाहरुले सहज रुपमा सेवा पाउन सकून भन्ने उद्धेश्यले एनआइसीयुका लागि आवश्यक सामाग्र हस्तान्तरण गरिएको लायन्स क्लवका डिस्ट्रिक्ट को चिफ एड्भाईजर बसन्तकुमार कर्माचार्यले बताउनुभयो ।
लायन्स क्लवले मेडिकल डिभाईस, दुईवटा वेड लगायत गरी झण्डै रु. १८ लाख रुपैयाका सामाग्री सहयोग गरेको उहाँले बताउनुभयो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै लायन्स क्लव इन्टरनेशनलका एरिया लिडर बालकृष्ण बुर्लाकोटीले नवजात शिशुको उपचारका लागि यो मेशीन र उपकरणको ठुलो महत्व रहेको बताउँदै यसको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले दिगो रुपमा विरामीहरुलाई सेवा दिन आग्रह गर्दै थप सहयोग पनि गर्दै जाने बताउनुभयो । त्यस्तै लायन्स क्लवका डिस्ट्रक्ट गभर्नर इन्दु लम्सालले सुविधा सम्पन्न अस्पतालहरु नभएका जिल्लाहरुमा बिरामीहरुको जटिल रोगको उपचारका लागि समस्या रहेको बताउँदै यस्ता सामाग्रीहरुले अस्पतालको गुणस्तर र नागरिकको सेवामा सघाउ पुग्ने बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले अत्यावश्यक उपकरणहरु सहयोग गरेकोमा लायन्स क्लवलाई धन्यवाद दिँदै यसको सहि सदुपयोग गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले नयाँ भवन निर्माण भएपछि अझै व्यवस्थित र तत्काललाई नयाँ कक्ष स्थापना गरेर सेवा संचालनमा ल्याईने बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, लायन्स क्लवका भाईस डिस्ट्रिक्ट गभर्नर मनबहादुर रोका लगायले बोल्नुभएको थियो ।
लायन्स क्लव अफ शिवालय कुश्माका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत डिस्ट्रिक्ट को चिफ एड्भाईजर बसन्त कर्माचार्य र संचालन लायन्स क्लव अफ शिवालयका सचिब मिनप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!