पोखरा : लगातारको हिमपातपछि पछिल्लो समय गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा रहेका बस्तीहरुमा हिमपहिरोको जोखिम बढेको छ।
हिमपहिरोको जोखिम बढेपछि बस्ती विस्थापित हुन थालेको छ। एक साताभन्दा लामो समय निरन्तर हिउँ परेपछि मुस्ताङ, मनाङ, गोरखा र म्याग्दीका गाउँहरुमा हिमपहिरोको जोखिम बढेको हो। यस क्षेत्रमा पाँच फिटभन्दा बढी हिउँ जमेको स्थानीयले बताए।
गोरखामा ४० घर विस्थापित
गोरखाको तिब्बतसँग सिमाना जोडिएको साम्दो गाउँका निमा दोर्जे लामाका अनुसार त्यस क्षेत्रका घरहरु तीन सातादेखि हिउँले पुरिएको छ। ‘घर नै पुर्ने गरी हिउँ परेको हामीले थाहा पाएपछि सायदै पहिलो हो,’ उनले भने, ‘एउटा घरमा भएको मान्छे वल्लोपल्लो घरमा जानसक्ने अवस्था छैन। बस्तुभाउको त्यस्तै विचल्ली छ।’
उनका अनुसार दुई दशकअघि पनि साम्दोमा अहिलेको जस्तै हिमपात परेपछि हिमपहिरो आएर गाउँ पुरिएको थियो। ‘गाउँमा पहिरो झर्ने डर छ, माथिल्लो गाउँको ३५ घरका मानिस त तल्लो गाउँमा झरिसकेका छन्,’ लामाले भने, ‘कति बेला हिउँ पहिरो खस्छ थाहै हुन्न। हिउँ पर्न रोकिएको छैन।’ बाक्लो हिउँ थुप्रिएको भेगमा घाम चर्किने बित्तिकै हिमपहिरो खस्ने सम्भावना रहेको सामागाउँका स्थानीयहरु बताउँछन्। मुस्ताङमा पहिरो हिमालपारिको जिल्ला मुस्ताङमा हिमपहिरोको जोखिम बढेको त्यहाँस्थित सञ्चारकर्मी सुशीलबाबु थकालीले बताए। ‘यहाँको थासागाउँपालिका–२ छाक्ताङमा हिमपहिरोको जोखिम बढेको छ,’ उनले भने, ‘घरभन्दा १०० मिटर पर हिमपहिरो खस्नै थालेपछि दुई घर विस्थापित भएर अर्काे गाउँमा बसिरहेका छन्। घाम लागेपछि जुनबेला पहिरो खस्न सक्छ।’ छाक्साङमा १० फिटभन्दा बाक्लो हिउँ जमेको छ। छाक्साङको धम्पु गाउँमा हिमपहिरोको जोखिम बढेपछि स्थानीयहरु त्रासमा बसेको उनको भनाइ छ। त्यस्तै, चुन्जुङ गाउँमा पनि अत्यधिक हिमपात भएपछि स्थानीयहरु त्रासमा रहेको पेमा गुरुङले बताइन्।
मनाङमा उस्तै त्रास
मनाङमा पनि अत्ययधिक हिमपातपछि स्थानीयहरु त्रासमा छन्। माथिल्लो मनाङको नार–फु, तिमाङ, ढिकुरपोखरी, याकखर्क लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ। मनाङका मनराज गुरुङका अनुसार मनाङका मानिसहरु अधिकांश मनाङबाहिर रहेकाले घर जोखिममा परेको छ। ‘यहाँका धेरै मानिसहरु अहिले गाउँमा छैनन्,’ उनले भने, ‘यहाँका केही होटलका मानिसहरु मात्रै छन्। तर, हिउँ बाक्लो परेकाले घाम लागेसँगै हिउँ पहिरो खस्ने र घर पुर्ने खतरा भने बढेको छ।’ म्याग्दीमा हिउँ पहिरो
म्याग्दीमा पनि हिमपहिरोको जोखिम बढेको धौलागिरी गाउँपालिका–१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। ‘यो वर्ष हिउँ धेरै प¥यो। घाम लागेर पग्लन थालेपछि हिउँ पहिरो नै गयो,’ उनले भने, ‘हिउँ पहिरोले हाम्रो गाउँपालिका जाने र गुर्जा आउजाउ गर्ने बाटो नै बन्द भएको छ।’ हिउँ पहिरोले दुई गाउँको सम्पर्क टुटेको छ। बाटो खुलाउने प्रयास भए पनि हिउँ खस्ने क्रम नरोकिएकाले समस्या भएको उनले बताए।






