मन्त्री रवीन्द्रकाे अभाव खड्किरहने छ : विकास लम्साल - News site from Nepal
मन्त्री रवीन्द्रकाे अभाव खड्किरहने छ : विकास लम्साल

मृत्यु अवश्यंभावी छ । त्यसैले जन्म पछि मृत्यु निश्चित छ । तर अनपेक्षित दुर्घटनाले निम्ताएको मृत्युले दुखी बनाउने रहेछ । देशलाई नै शोकमा डुबाउने रहेछ । यस्तै भयो । फागुन १५ गते मध्यान्हफेर नेपाल सरकारका पर्यटन, संस्कृति तथा उडड्यन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको खबरले । पोखरामा नीति तथा योजना आयोगको कार्यक्रम चलिरहेको थियो । अपत्यारिलो खबरले हाड फतक्क गले । बक्के बस्यो । घाँटी सुक्यो । दुर्घटनाको खबर पाएको आधा घण्टा पछि निधन नै भन्ने पुष्टि भयो । एकाएक विगतका उहाँसग जोडिएका विस्मृतिहरु मेरो मानसपटलमा रिङ्न थाले । कलेज पढ्न भनेर ०४८ सालताका पोखरा झेरेको म । विद्यार्थी राजनीतिदेखि पारिवारिक सम्बन्ध बुन्दै संविधान सभासम्मको यात्रामा समकालिन एवं अभिभावक मेरो आदरणीय रवीन्द्र दाईदेखि विभागिय मन्त्रालयसम्मको सहयोगी सम्बन्ध । सम्झने शब्द कम छन् तर सम्झीरहने उहाँसँग जोडिएका विगतदेखि वर्तमानसम्मका इतिवृतान्त सायदै यहाँ उल्लेख गर्न सकिदैन । रवीन्द्र दाईको श्रद्धान्जली सभामा स्वयं उपस्थित भएर अन्तिम श्रद्धान्जली दिइरहँदा समेत महशुस नै भइरहेको छ । आजको दिनसम्म पनि उहाँसँग जोडिएका अन्तरकुन्तरका संयोग र सहयोग सद्भावका परिदृश्य झल्झल्ति आइरहन्छन् । र उहिँ शैलीमा हालखबर सोध्न आइपुग्नुहुन्छ, ‘के छ ठिक छ ?’
विद्यार्थी राजनीतिका प्रेरक
पर्वत बहुमुखी क्याम्पसबाट प्रविणता तह सकेर ०४८ सालमा पोखरा झरे । पृथ्वीनारायण क्याम्पसमा ‘बिकम’मा भर्ना भए । पर्वतकै क्याम्पसमा अखिलको प्रारम्भिक विद्यार्थी कमिटीको जिम्मेवारी सम्मालेको अनुभव थियो । पोखरा नआउँदै पनि रवीन्द्र दाईको बारेमा सुनिसकेको थें । पर्वतबाट परिक्षा दिन हामी पिएन मै आउनुपर्ने बाध्यता थियो त्यससमय । अन्नतः एउटै क्याम्पसमा पढ्ने एउटै संगठनको कार्यकर्ता भएपछि घनिष्ठता बढ्यो । २०४९ सालमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उहाँ सभापति हुनुभयो । म सोही १७ सदस्यीय समितिमा कार्यकारी सदस्यको हैसियतमा निर्वाचित भए । रवीन्द्र दाई स्ववियुमा निर्वाचित भएपछि क्याम्पसमा रचनात्मक गतिविधि ह्वात्तै बढे । नयाँ शिराबाट अनेकौं बहसहरुको थालनी गर्ने अचम्मको खुबी थियो उहाँसँग । यस्ता गतिविधिमा निरन्तर सहकार्य भइरह्यो । राजनीतिलाई विकाससँग जोड्नु पर्ने स्पष्ट धारणा थियो रवीन्द्र दाईमा । उहाँकै कार्यकालमा पिएन क्याम्पसमा भौतिक संरचनासँगै फ्याकल्टी विस्तारसम्मका कामहरु गरिए । पुस्तकालय, बाटो निर्माण, गेट निर्माणका गतिविधिसँगै विद्यार्थी अनुशासनका लागि ड्रेसको व्यवस्था कायम गर्न उहाँको नेतृत्व आजपनि प्रेरणादायी छन् ।
०४६ सालसम्मको विद्यार्थी राजनीतिलाई मात्र दलको सिमित मोहराको रुपमा परिभाषित गरिन्थ्यो । उहाँले विद्यार्थी राजनीतिले राज्य सत्ता हल्लाउन सक्छ, भन्ने किसिमका सबल पक्षहरुको अभ्यास अनूभुत गराउनुभयो । र तिनै थालनीका परिणाम हुन् सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई छुट सुविधा । यो सहज परिस्थितीबाट निस्किएको परिणाम थिएन । सरकारलाई गालेर नै विद्यार्थी छुट सम्बन्धमा व्यवस्था गर्न बाध्य बनाइएको हो । गायक प्रविण गुरुङको हत्याको विषयमा पारस शाहको शाहज्यादा खोस्ने प्रयाससम्मका कामहरु साँच्चिकै आटिला कुरा हुन् । राजाकालमा दरबार विरुद्ध नै धावा बोल्नु चानेचुने कुरा थिदैँ थिएन् । सोही क्रममा पाँचलाख बढि हस्ताक्षर संकलन गरी तत्कालिन राजा विरेन्द्रलाई हस्तान्तरण गराउने कामको नेतृत्व रवीन्द्र दाईले विद्यार्थी कालमा गरेका ऐतिहासिक मानक हुन् ।
विद्यार्थी कालमै उहाँले गर्नुभएको अर्को महत्वपूर्ण वैचारिक काम भनेको । पार्टीले महाधिवेशनका लागि लैजाने विभिन्न प्रस्तावहरु ग्राउण्ड लेबलमा ल्याएर छलफल चलाउने । तत्कालिन समयमा मोहनचन्द्र अधिकारी, सिपी मैनाली र मदन भण्डारीले महाधिवेशनका लागि फरकफरक सैद्धान्तिक प्रस्ताव आएका थिए । ती तिनै प्रस्तावलाई रवीन्द्र दाईले अखिलको कर्मठ कार्यकर्ताको हैसियतले पार्टीमा अघि सारिएका सैद्धान्तिक पक्षहरुमा बहसको थालनी गरिदिनु भयो ।
अन्ततः महाधिवेशनबाट ‘जबज’ पारित हुन सफल भएको थियो । लोकतान्त्रिक पद्दतीलाई संस्थागत गर्न चुनावी प्रक्रियाबाट नेतृत्व छानिनुपर्दछ भन्ने कुरामा पनि उहाँको र मेरो सहकार्य अन्तिम समयसम्म पनि निरन्तरता रहिरह्यो । संगठनलाई दरिलो बनाउन विद्यार्थी संगठनमा लोकतान्त्रिक प्रणालीलाई संस्थागत गराउनमा रवीन्द्र दाईको अतुलनीय योगदान छ । विद्यार्थी राजनीतिमा छँदासम्म उहाँले नेतृत्व लिएका हरेक आन्दोलनले सफलता प्राप्त गरेकोले ०५४ मा पार्टीमा फुट आएपछि पनि उहाँलाई अखिलको विद्यार्थी नेता नै भनेर चिन्दथें । ०५८ मा फुटपछिको जुटले पनि उहाँको राजनीतिक क्षमता र वैचारिक नेतृत्वलाई असर गरेन ।
०५२ सालपछि रवीन्द्र दाई थप अध्ययन र केन्द्रीय विद्यार्थी राजनीतिमा अग्रसर हुँदै काठमाडौं जानु भयो । म जिल्लाको राजनीतिमा केन्द्रीत भए । निरन्तर तिन वर्षसम्मको उहाँको संगतमा मैले विद्यार्थी जीवनबाट नै राजनीति भनेको असल कर्मका लागि भन्ने अठोट गरिसकेको थियो । यसकारण पनि उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो । काठमाडौं गएपछि पनि मलाई धेरै पटकको भेटमा उहाँले काठमाडौंमै आउन आग्रह गर्नुभयो । म जिल्लामै अलि बढि केन्द्रीत हुँदा त्यससमय तत्कालै काठमाडौं जान तयार भइन । उहाँ केन्द्रीय राजनीतिमा समेत सफल भइरहँदा मसँगको अन्तरसम्बन्ध लगायत राजनीतिक परिवेशका घटनाहरुमा निरन्तर छलफल र बहस भने गरिरहनु भयो । जुन मेरा लागि पनि सत्मार्ग बनें । सम्बन्ध बनाउन र दायित्व निभाउन एक असल नेतामा हुनुपर्ने गुण रवीन्द्र दाईमा थियो । उहाँको यो गुण जुनै शब्दले प्रशंसा गर्न खोजे पनि निष्फल हुन्छ । विपक्षीलाई पनि मिलाएर अघि लैजानु पर्दछ । चिढाउनु हुँदैन । मित्रवत् हार्दिक सम्बन्धले नै अनेकौं राजनीतिक अड्चनको गाँढो फुकाइसकेको हुन्छ भन्ने मान्यता उहाँको असल आचरण थियो । यसरकारण पनि उहाँ मेरा लागि प्रेरक बनिरहनु भयो ।
पारिवारिक सम्बन्ध
पोखरा विश्वविद्यालय स्थापनाका लागि विभिन्न चरणमा छलफलहरु भइरहन्थें । ०५२ सालमा यस्तै सन्दर्भमा हामी कुराकानीकै क्रममा भेटघाट र अन्तरक्रिया गरिरहन्थ्यौं । उहाँले कमरेड सोमनाथ अधिकारी प्यासीकी सुपुत्री मञ्जुसँग मेरो विवाहको प्रस्ताव गर्नुभयो । यसअघि अन्यले अन्यत्रबाट ल्याएका प्रस्ताव टारिरहन्थें । रवीन्द्र दाईका प्रस्ताव नर्कान सकिन् र हामीले जनवादी विवाह ग¥यौ । यसअघि पनि पार्टीका कार्यक्रम सञ्चालनका लागि पैसाको जोहो गर्न विद्यार्थी राजनीतिमा हुँदा तिन वर्षसम्म तिहारमा देउसी भैलो खेल्थ्यौं । त्यससमय म तिहारमा पर्वत गइन । मैले रवीन्द्र दाईकी बहिनीको हातबाट भाइटिका लगाए । मैले पोखरा रहँदा घरको तिर्सना मेट्ने रवीन्द्र दाईकै घर थियो । बुबा आमाको स्नेह र भाईबहिनीसँगको ममता । पारिवारिक घनिष्ठताले पनि हामी अत्यन्तै नजिक थियौं । साथीभाई इष्टमित्रलाई उत्तिकै सम्मानआदर गर्ने रवीन्द्र दाईको अभाव मेरो जीवनकालमा सधैं खड्किरहने छ ।
अब्बल सांसद, अब्बल मन्त्री
०६५ मा संविधान सभाको चुनावमा म जिल्लाकै राजनीतिमा सक्रिय थिएँ । संगठन बनाउन र परिचालन गर्नमा बढि केन्द्रीत हुँदा मैले आकांक्षा देखाइन । कास्कीबाट रवीन्द्र दाई निर्वाचित हुनुभयो । भलै पहिलो संविधानसभाले संविधान बनाउन सकेन । त्यस चरणमा पनि उहाँको सक्रियताले ‘एक्टिभ पार्लिमेन्ट मेम्बर’को भूमिका देखाइसक्नु भएको थियो । दोस्रो संविधान सभाको चुनावमा म पर्वतबाट निर्वाचित भए । उहाँले दोस्रोपल्ट पनि कास्कीबाटै संविधान सभाका यात्रा तय गर्नुभयो । यस क्रममा उहाँको चर्चा अझ चुलियो । म लेखा समितिको जिम्मेवारीमा थिएँ । उहाँले विकास समितिको सभापतिको जिम्मेवारी पाउनु भयो । संसदका समितिहरुमा पक्षप्रतिपक्ष अति कम देखिने ठाउँ हुन् । रवीन्द्र दाईले आफ्नो वास्तविक क्षमताको सुरुवात विकास समितिमा हुँदा देखाउने अवसर पनि पाउनुभयो । विकासको बहस सिर्जना भयो । समृद्ध नेपालको प्रतिपादक बनेर उभिनु भयो । राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीय तहमा भइरहेका विकास निर्माणको पनि अनुगमन जवाफदेहिता खोज्ने अधिकार प्रयोग गर्दै रवीन्द्र दाईले अब्बल सांसदको भूमिका देखाउनु भयो ।
गौतम बुद्ध विमानस्थलको चमात्कारिक प्रगति रवीन्द्र दाई विकास समितिमा हुँदादेखि कै हो । आगामी भदौसम्ममा व्यावसायिक उडान भर्ने गरी युद्धस्तरमा निर्माण भइरहेको विमानस्थलको काम त्यससमयमा ठप्प जस्तै थियो । राष्ट्रिय गौरवकै आयोजनाको रुपमा उहाँले विकास समितिको सभापति छँदा नै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तमाम् गण्डकी प्रदेशबासीकै सपनाको नेतृत्व लिएकै कारण आज यो आयोजना पनि सपनासाकार हुँदै छ ।
संसदमा समेत विशेष प्रस्ताव, संकल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावहरु रवीन्द्र दाईले धेरै दर्ता गराउनु भयो । यस लगायत काममा उहाँसँगको मेरो सहकार्य रहँदा आजसम्म पनि सुखानुभूति हुन्छ । भनिन्छ नि, ‘गमलाको फूलले बहाना खोज्छ, पीपलको बोटले अवसर’ उहाँले असम्भव देख्ने कयौं यस्ता कुराहरुलाई सम्भव बनाउनु भयो । यसैको परिणाम नै भन्नुपर्छ । संसदमा पनि उहाँले आफूलाई अब्बल सांसदको रुपमा परिचित गराउनु भयो ।
रवीन्द्र दाई दोस्रो संविधान सभाबाट पारित संविधान कार्यान्वयनका लागि निकै गम्भीर हुनुहुन्थ्यो । संविधानले प्रदत्त गरेको संघीयताको प्रारुप र बाँडफाँड हुने अधिकारका सम्बन्धमा उहाँको चासो थियो । दशकौंको लडाईपछि प्राप्त गरेको अधिकार जनतासम्म पुर्‍याउन सकेमा जनमतको कदर गर्न सकिने विश्वास उहाँमा थियो । त्यसैले पनि उहाँ पार्टीले निर्णय गरेमा तल्ला तहमा समेत जिम्मेवारी लिएर काम गर्न सकिने कुरामा प्रष्ट हुनुभयो । पार्टीकै निर्णयानुसार म प्रदेशमा आए । उहाँ संघका लागि प्रतिनिधित्व गर्नुभयो । विभागिय मन्त्रालय पनि एउटै भयो । यस अवधिमा पनि उहाँले आफू संघको मन्त्री निर्देशन मात्रै दिए पुग्छ, भन्ने किसिमको व्यवहार थिएन । ग्राउण्ड लेबलबाट सोच्न सक्ने क्षमताका कारण उहाँबाट धेरै जनप्रतिनिधि सन्तुष्ट देखिन्थें । निराश नहुन उहाँको हौसला सदैव प्राप्त भयो । प्रदेश मन्त्रीमा म नियुक्त भएपछि उहाँले बधाई दिँदै प्रदेशको विकासमा सधैं समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो । प्रदेश गठन अगावै पनि उहाँले कोरला नाकाको स्थलगत निरीक्षण गरेर नाका विस्तारका लागि पहल गरिसक्नु भएको थियो । प्रदेशलाई पर्यटनको हब बनाउन सकिन्छ भनेर उहाँले सदैव क्रियाशिल भूमिका खेलि रहनु भयो ।
उहाँले देखाउनु भएको क्रियाशिलता र चिन्तन मन्त्री भइसकेपछि पनि निरन्तरता दिइरहनु भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक कन्सेप्टमा परिर्वतन गर्ने । २१ घण्टासम्म सञ्चालनमा ल्याउने । डोमेस्टीक एयरपोर्टमा समेत रात्रीकालिन उडान भर्ने । बन्द भइसकेका विमानस्थलको सञ्चालन पूर्वाधार विकासमा लगायतका कामहरु मन्त्री भइसकेपछि गरेका कामहरु उल्लेखनीय छन् । यसै क्रममा दुरदराजका नागरिकलाई भौगोलिक विकटताका कारणले सुविधाबाट बञ्चित गरिनु हुँदैन भनेर निरन्तर लागिरहँदा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा उहाँको अकल्पनीय अवसानले स्तब्ध बनाएको छ । विभागिय प्रदेश मन्त्री भएकोले नाताले र मेरो व्यक्तिगत सम्बन्धबाट रवीन्द्र दाई भएको नाताले उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । साथै, सम्पूर्ण शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

लम्साल गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन् ।
देश सञ्चार डटकमका पोखरा संवाददाता ईश्वर देवकोटासँगको कुराकानीमा आधारित ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!