गण्डकीका पर्यटन मन्त्री लम्साल भन्नुहुन्छ : ‘सवैखाले शिक्षाबाट प्रदेशलाई आत्मनिर्भर बनाउँछौ ‘ - News site from Nepal

पर्वत–गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले अब कुनैपनि शिक्षाका लागि प्रदेश बाहिर जानुपर्ने अवस्था नआउने बताउनुभएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर उच्च माविमा संचालित स्वर्ण महोत्सवको समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री लम्सालले अव गुणस्तरिय शिक्षाको नाममा मुलुकका अन्य प्रदेश र विदेशी भूमिमा जानु नपर्ने बताउनुभयो । शिक्षामा गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउनका लागि अहिले गृहकार्य भैरहेको बताउँदै मन्त्री लम्सालले सवै किसीमका कलेजहरु प्रदेशभित्रै संचालन गरिने बताउनुभयो । उहाँले यसको पहिलो उदाहरण विज्ञान तथा प्रविधि प्रतिस्ठानको स्थापनाबाट शुरुवात गर्न थालिएको बताउनुभयो । उहाँले विज्ञान, कृषि, मेडिकल, इन्जिनियर लगायतका सवै शिक्षाबाट प्रदेशलाई आत्मनिर्भर बनाउनका लागि अहिले ऐन बनाउने काम भैरहेको पनि बताउनुभयो ।
मन्त्री लम्सालले अबको शिक्षा परम्परागत शैलिको हुन नहुने बताउँदै शिक्षा लिईसकेपछि बेरोगार बस्नु नपर्ने खालको शिक्षामा राज्यले ध्यान दिएको बताउनुभयो । अब एकातर्फ शिक्षा लिने र अर्कोतर्फ रोजगारी गर्दैै जान सक्ने खालको आधुनिक र प्रविधियुक्त शिक्षाको विकासमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउँदै यसको शुरुवात गण्डकी प्रदेशबाट गरिने बताउनुभयो । उहाँले प्रत्येक स्थानीय तहमा इन्जिनियरिङ्ग लगायत प्राविधक कक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्को प्रसंगमा मन्त्री लम्सालले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गरिने बताउनुभयो । अहिले संचालन भैरहेका सानातिना उद्योगहरुलाई पनि एकीकृत गरी औद्योगिक ग्राम स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन शुरु भैसकेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा एक जिल्लामा स्थापना गरिने र आगामी पाँच वर्ष भित्रमा ८५ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुने बताउनुभयो । लम्सालले ग्राम स्थापना भएपछि प्रत्येक स्थानीय तहमा थप उद्योगहरु स्थापना हुने र त्यसले आर्थिक समृद्धिको दिशातर्फ लैजाने पनि बताउनुभयो ।
मन्त्री लम्सालले गण्डकी प्रदेशको मुख्य आधार भनेको पर्यटन भएकाले सरकारले विशेष प्राथमिकताका साथ पर्यटनको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटनको पूर्वाधार विकासलाई अहिले जोड दिईएको बताउँदै मुख्य पर्यटकीय स्थलहरुको विकल्पमा होमस्टेको विस्तार गर्न थालिएको बताउनुभयो । तीन सय भन्दा बढि होमस्टे संचालनका लागि यस वर्ष तीस करोड बिनीयोजन गरिएको पनि बताउनुभयो ।

उहाँले पुर्णेश्वर माध्यमिक विद्यालयमा संचालन गर्न लागिएको प्राविधिक कलेजका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले पाँच वर्ष भित्रमा गुणस्तरिय शिक्षाको खोजीमा गाउँ छाडेर शहर छोड्नुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. १० का अध्यक्ष सुजन विक, महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चै, कुश्मा नगर कार्यपालिका सदस्य देवेन्द्र नेपाली, पुर्णेश्वर भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष रामप्रसाद पौडेल, प्रेस चौतारि नेपालका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।
स्वर्ण महोत्सव मुल समारोह समितिका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सह संयोजक शान्त पौडेल र संचालन प्र्रचार प्रसार संयोजक गणेश पौडेलले गर्नुभएको थियो । सो अवसरमा भजन, रत्यौली लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट समुहलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!