
पर्वत- पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयमा ६ कोठे विद्यालय भवन निर्माण गर्न थालिएको छ । यूके स्थित ग्रो योर एजेन्सी मार्फत आएको आर्थिक् सहयोगमा द पहार ट्रष्ट नामक संस्थाले दिने ९० लाख र समूदायको १६ लाख रुपैयाँ श्रमदान जुटाएर बिद्यालयको भवन निर्माण हुन लागेको बिद्यालयले जनाएको छ ।
भवन निर्माणको शिलन्यास आज एक समारोहका बिच भएको छ । ग्रो योर एजेन्सी संस्थाका प्रवन्धक इमान गाड्जीले विद्यालय भवनको शिलन्यास गर्नुभयो । विद्यालयमा आज दाताहरुलाई बाजागाजा, भजनकिर्तन र फुलमाया लगाएर भव्य स्वागत गरिएको छ । विद्यालयले भवन निर्माणका लागि जग खनेर अहिले पिल्लर हाल्न शुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटाले भवन निर्माणको काम अवको ९ महिनाभित्र सक्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
पुरानो संरचना अनुसार बनेको भवन र भूकम्पका कारण भत्किने अवस्थामा रहेको हुनाले दाता खोजेर नयाँ भवन बनाउन थालिएको सापकोटाले बताउनुभयो । भूतपूर्व विद्यार्थी र यूकेमा रहेका गाउँलेहरुले दाता खोजेर विद्यालय सम्म ल्याएको प्रअ सापकोटाले जानकारी दिनुभयो । भवन बनाउन आवश्यक सहयोग गरेको संस्थाले आगामी दिनमा पनि थप सहयोग आवश्यक परे गर्दै जाने जनाएको छ ।
विद्यालयको भवन शिलन्यास कार्यक्रममा दाताहरुलाई सम्मान गरिएको छ भने जनप्रतिनिधी, विद्यालयका संस्थापकहरु, अभिभावकहरुको सहभागिता थियो । कुश्मा नगरपालिकाको सबैभन्दा दूर्गम र टाढा रहेपनि दाताहरुले यो विद्यालयलाई विगतमा पनि सहयोग गर्दै आईरहेका छन् ।