
फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले फलेवास नगरपालिकामा यति ठूलो मेला पहिलो पटक आयोजना गरिनु खुसीको कुरा भएको बताउँदै मेलालाई सफल बनाउन सबैलाई आह्वान गर्नुभयो । मेला मार्पmत नगरपालिका र छिमेकी स्थानीय तहरुको पहिचान पनि बाहिर आउनको लागि मेला कोशेढुंगा साबित हुने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी फलेवास नगरपालिकाका अध्यक्ष पिताम्बर घिमिरे, नेपाली काँग्रेस फलेवास नगरपालिकाका सभापति हिरामणी सापकोटा, राष्ट्रिय जनमोर्चा फलेवास नगरपालिकाका संयोजक ईन्द्रकान्त भुसाल, जैमिनी नगरपालिका ५ बिनामारे बागलुङका वडाध्यक्ष गोपाल पौडेल, फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, देवीस्थानका वडाध्यक्ष भोलानाथ भुषाल, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय कुश्माकी राधिका दिदी र जनप्रिय प्रशासन क्याम्पस काठमाण्डौँका स्ववियू सभापति पंकज सुवेदीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
आयोजक क्लबका अध्यक्ष अच्यूतकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहको संचालन क्लबका कलाकार कृष्ण अखेलीले गर्नुभएको थियो भने स्वागत मन्तब्य सचिव अनुप श्रेष्ठले राख्नुभएको थियो । मेलाको उद्घाटन हुनुपूर्व स्थानीय नागरिकले पञ्चेबाजा सहितको ¥याली र झाँकीका साथै तेक्वान्दो र कराँतेको डेमो प्रदर्शन गरिएको मेलाका प्रचारप्रसार संयोजक साजन परियारले जानकारी दिनुभयो । आज नै कलाकार कस्तुप पन्त र देवीस्थानकै लोकपप गायक सरोजसाजन श्रेष्ठलाई नगद र सम्मानपत्रले सम्मान गरिएको छ । फलेवास नगरपालिका–६ देविस्थानको माझीचौरमा आयोजना गरिएको मेलामा १ सय ५० ओटा स्टल राखिएका छन् । मेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतीहरुसँगै हास्य प्रहसन पनि देखाइने भएको छ ।
आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको छ ।
स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका सचिव अनुप श्रेष्ठले जानकारी दिनुभयो । मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने श्रेष्ठले बताउनुभयो ।