
पर्वत : ‘भएको मकै जति असिनाले खायो,’ फलेवास नगरपालिका–३, शंकरपोखरी रुग्दीका किसान मोतीबहादुर भण्डारीले भने, ‘धाराको पानी हालेर रोपेको खेत खडेरीले खायो। खान नलेखेको कर्म, भोकभोकै मर्न पर्ने हो कि।’
गत जेठमा बाक्लो गरी परेको असिनाले फलेवासका किसानको सबै मकै सोत्तर पार्यो। पसाउने बेलाका मकै असिनाले टुक्राटुक्रा बनाइदियो। असिनाले मकै सखान बनाएपछि न त मान्छेले खाने मकै भयो न त पशुपक्षीलाई खुवाउन नै। तर, असारमा राम्रोसँग वर्षा भइदिए धान राम्रो फलेर मकैको घाटा उठाउँला भन्ने आशमा थिए। वैशाख र जेठमा असिना परेर प्रकृतिबाटै ठगिएका यहाँका किसान असार र साउनमा वर्षा नहुँदा फेरि पनि प्रकृतिबाटै ठगिएका गुनासो गर्छन्। ‘मकै त भित्र्यााउन पाइएन, असिनाले खायो। अलिअलि बाँचेका मकै पनि खडेरीले सक्यो,’ रुग्दीका बाबुराम पौडेले दुखेसो पोखे, ‘जसोतसो धाराको पानी हालेर रोपेको खेत पानी लगाउन नपाउँदा चिराचिरा परेको छ।’ फागुनदेखि वैशाखसम्म असिनासहितको भारी वर्षा भए पनि यस क्षेत्रमा वर्षायाममा खेतीका लागि पुग्ने वर्षा भएन। वर्षायाममा फुट्ने पानीका मूलहरूमा अझैसम्म पनि पानी रसाउन नसकेको पौडेले बताए।
असिनाले बाली सखाप पारेको चोट आलै रहेका बेलामा धानको हालत पनि उस्तै बनेपछि जिल्लाका विभिन्न स्थानका किसानहरू भोकमरी परिने चिन्तामा छन्। ‘मकै त एउटा गेडो पनि चाख्न पाइएन, अब धानको पनि आशा नगरे हुने भयो,’ मुडिकुवाका प्रेम बिकले भने, ‘परिवारको पेट पाल्न अब मकै र चामलको जोहो कसरी गर्ने भन्ने चिन्ता छ। पैसा हुनेहरूले त तराईको चामलमा पैसा हाले भो। मजदुरी गरेर पेट पाल्नेले के खाने? के लाउने? बिजोग हुने भयो।’ सधैंका वर्षजस्तो भए यतिबेला रोपाइँ सकिने बेला भएको छ। तर, यस वर्ष अधिकांश ठाउँमा रोपाइँ हुन नसकेको छैन। रोपाइँका लागि आवश्यक पानी नभएकाले खेत ढिलो रोपिएको र केही खेत बाँझो समेत रहन सक्ने कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए। ‘आइतबार मात्रै पनि जलजलामै राम्रो धान फल्ने क्षेत्रहरूको अवलोकन गरेर फर्केको छु। खेत र किसानको मुहार हेर्दा बिजोग छ।
रोपाइँ गरेर हरियो धान हुने खेतमा झार उम्रिएको छ,’ रेग्मीले भने, ‘वैशाख र जेठमा धेरै असिना पर्यो, धेरै ठाउँको मकै सोत्तर पार्यो। अहिले वर्षा नभएर खेत बाँझै छ, रोपेको पनि चर्किएको छ, धानका बिरुवा सुकेका छन्।’ सिँचाइको नभएकाले मुसाले धानका बिउ समेत काट्न थालिसकेको किसानहरुले बताए। अघिल्लो वर्षहरूमा धान पसाएपछि मात्र खेतमा मुसा लाग्ने गरे पनि यस वर्ष बिउ नै काट्न सुरु गरिसकेको छ। यसअघिका वर्षहरूमा घरमा मकै भण्डारण गरिएका कारण मुसा घरकै मकैमा भुल्दा मुसाले धानखेतीमा कमै मात्रामा क्षति पुर्याउने गरेको किसानहरुको अनुमान छ। जिल्लाको भौगोलिक अवस्थाका कारण साउनमा रोपिएको धानभन्दा असारमा नै रोपिएको धानको बिउले छिटै गाँज हाल्ने र उत्पादन पनि बढी दिने कृषि प्राविधिकहरू बताउँछन्।
यस वर्ष समयमै रोपाइँ नभएकाले धान उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र प्रमुख रेग्मीको भनाइ छ। पर्वतमा करिब नौ हजार हेक्टर क्षेत्रफल जग्गा धानखेतीका लागि योग्य छ। तर पछिल्ला वर्षहरूमा धानखेती गर्ने क्रममा घट्दो छ। आवश्यकता अनुसारको पानी नहुनु, उत्पात्नयोग्य भूमिलाई घडेरी बनाउनु, सडक बिस्तारका क्रममा खेत नष्ट हुनु, बसाइँसराईपछि गाउँको खेतबारी बाँझै छोड्नुलगायतका कारणले ८ हजार ७०० हेक्टर क्षेत्रफलमा मात्र मात्र धान लगाउने गरिएको तथ्यांक छ। पर्वतमा प्रतिहेक्टर जमिनमा २.८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ।
थाहाखबरबाट