पर्वत- राज्यका सबै तहका सरकार र निकायमा लैङ्गिक तथा समाबेशीको संख्या कसरी बढाउन सकिन्छ भन्ने बारेमा सरोकारवालाहरुले अन्तरक्रिया र छलफल गरेका थिए । तालिमको उद्घाटन गर्नु हँुदै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले संविधान र कानुनले ३३ प्रतिशत समाबेशीकरणको लक्ष्य लिएपनि राज्यको प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने समाबेशी समूहको सहभागिता न्यून रहनु दुखद भएको बताउनुभयो । प्रतिनिधीसभा र राष्ट्रिय सभामै समानुपातिक निर्वाचन प्रणाली मार्फत समाबेशीताको क्षतीपूर्ती गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै लामिछानेले अवको निर्वाचनहरुमा समाबेशीतालाई बढि ध्यान दिन दलहरुलाई आग्रह गर्नुभयो । अधिकाँश जिल्लामा मुख्य पदहरुमा महिलाहरुलाई उम्मेदवार बन्नबाट रोकेर उप मात्रै पद दिइएको बताउँदै लामिछानेले यसलाई महिलाहरुलाई पुरुषको आँखाबाट हेर्ने सोच परिवर्तन हुनुपर्ने बताउनुभयो । जनप्रतिनिधीहरुलाई लैङ्गिकता तथा समावेशितासम्बन्धी विषयहरूमा साझा बुझाइ तयार गर्ने र समाबेशितालाई आगामी हुने निर्वाचनमा थप सुधार गर्ने विषयमा छलफल भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ऐनमा उल्लेख भएका कुराहरुलाई व्यवाहारमा उतार्नु चुनौतीको विषय भएको बताउँदै समानताका लागि सवैको सहकार्य आवश्यक हुनुपर्ने बताउनुभयो । तालिमको बारेमा निर्वाचन आयोगका सहसचिव गिरिजा शर्मा र चन्द्रबहादुर शिवाकोटीले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण गिरिजा शर्मा, चन्द्रबहादुर शिवाकोटी, नम्रता चुडाल, लक्षु शर्मा लगायतले गर्नुभएको थियो ।