पर्वत– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसका शिर्ष नेताहरु पर्वत आउने भएका छन् । नेपाली काँग्रेस पर्वतको जिल्ला भेला तथा नेपाली काँग्रेस जलजला गाउँ कार्यसमितिको भवन शिलन्यासका लागि देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता बिश्वप्रकाश शर्मालगायतका नेताहरु पर्वत आउन लागेका हुन ।नेपाली काँग्रेस पर्वतको जिल्ला भेला यही फागुन २७ गते सदरमुकाम कुश्मामा हुँदैछ । त्यसैगरी जलजला गाउँ कार्यसमितिको भवन एवम् मोहनबहादुर मल्ल स्मृति भवनको शिलन्यास जलजला गाउँपालिका वडा नम्बर ४ मोहनचोकमा फागुन २६ गते बिहान १० बजे हुने भएको नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले जानकारी दिए ।देउवासहितका नेताहरुले यही फागुन २५ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटन गर्ने कार्यक्रम छ । तीन दिन पर्वत, म्याग्दी र बागलुङका विभिन्न कार्यक्रममा नेताहरुको सहभागिता रहने भएको हो । पर्वतको जलजला र कुश्मामा हुने कार्यक्रमको तयारीका लागि नेपाली काँग्रेस पर्वतले तयारीलाई तिब्र पारेको सभापति खिमप्रसाद भुसालले जानकारी दिए ।