पर्वत– प्रमुख जिल्ला अधिकारीले दैनिक रुपमा जिल्लाको शान्ति सुरक्षा देखि नागरिकता, राहदानी सम्मका काम सम्पादन गर्छन । आफ्नो काम यतिमा मात्रै सिमित राखेर बसेका छैनन पर्वतका प्रजिअ गुरुदत्त ढकाल ।
ढकालले बाबुको मृत्युपछि आफ्ना नावालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका तीन बालबालिकालाई सहयोगी खोजेर घडेरी पास गरिदिनुभएको छ ।
बाबुको मृत्युपछि आमाले दोस्रो बिहे गर्दा बिचल्लीमा परेका पर्वतको कुस्मा नगरपालिका – ९ कटुवाचौपारीका तीन दलित समुदायका बालबालिकालाई ५ आना घडेरी पास गरिदिनुभएको छ । बाबु आमा नहुँदा सहारा बिहीन भएका बिशाल परियार, बिवेक दर्जी र बिश्वास परियारलाई सोमबार लालपुर्जा हस्तान्तरण गरिएको छ । उक्त जग्गाको मुल्य ५ लाख भन्दा बढी पर्छ । तीन बालबालिकाको बिचल्ली देखेपछि उनीहरुलाई स्थायी बसोबास र शिक्षा दिने कुरामा पहल गर्ने रुची जागेर आएको प्रजिअ ढकाल बताउनुहुन्छ ।‘शान्तिसुरक्षा कायम गर्ने र दैनिक प्रशासनिक काम गर्ने भएपनि असहय, हिंसापिडीत र निमुखाहरुको लागि केही गर्नुपर्छ भन्ने भावनाले यो पहल गरेको हुँ’ जग्गाको लालपुर्जा हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले भन्नुभयो ‘अब उनीहरुका लागि आवास बनाउन पहल गर्छु’
प्रजिअ ढकालको पहलमा तत्कालिन जिल्ला बिकास समितिका उपसभापति राम शर्मा पौडेलले जम्मा १ लाख रुपैया लिएर ५ लाख भन्दा बढीको घडेरी पास गरिदिनुभएको छ । घडेरी किन्नका लागि प्राबिधीक क्षेत्रमा काम गर्ने २४ जना युवाहरुले एक लाख रुपैंया संकलन गरेका थिए । इन्जिनियर सुरेन्द्र गौतमको नेतृत्वमा संकलित उक्त रकम गौतम, सरोज ढकाल र इन्द्रबहादुर राणा थापाले बालबालिकालाई हस्तान्तरण गरिएपछि जग्गाधनीलाई बुझाइएको छ ।
०७४ मंसिरमा मृत्यु भएका पर्वतको कुस्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका थिए । उनका दुई श्रीमतीमध्ये सावित्री दमै चार वर्षअघि र कान्छी देवी परियार दुई वर्षअघि दोस्रो विवाह गरी गइसकेका छन्। देवीतर्फका छोरा विवेक र सावित्रीतर्फ विशाल र विश्वास बाबुको मृत्युपछि सहाराविहीन बनेका थिए । उनीहरु वृद्ध हजुरबुबा हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन्। जग्गाको लालपुर्जा रुदा खुसीले रोएकी हजुर आमा गौतमी परियारले अब टुहुराले सहारा पाएको बताउनुभयो । ‘मैले रुदैं ज्याला मज्दुरी गरेर पाल्न सकेकी थिइन, ’ उहाँले भन्नुभयो ‘अब यी बालकको पनि भविश्य बन्छ भन्ने सोचेकी छु’
प्रजिअ ढकालको पहलमा जेठबाट बालकको हेरचाह, पालनपोषण र शिक्षाका लागि मासिक ६ हजार रुपैयाँ परिवारले पाउन थालेका छन्। वडाको सिफारिसमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि उक्त संस्थाले तीन बालकलाई जनही मासिक २ हजार रुपैयाँका दरले सहयोग गर्दै आएको छ।