पर्वत–ऐतिहासिक पहिचान बोकेको नेपालकै ठुलो मानवनिर्मित पोखरीको संरक्षण शुरु गरिएको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको ऐतिहासिक ठुलीपोखरीको संरक्षणका लागि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु २५ लाख रुपैया बिनीयोजन भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा उक्त रकम विनीयोजन भएको हो । ठुलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पोखरी संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गनुभएका मन्त्री लम्सालले एक वर्षमै उक्त बजेट बिनीयोजन गर्न सफल भएको बताउनुभयो ।
पानीको स्रोत र ब्यबस्थापनको अभाबमा पोखरी चुहिएर यसको अस्तित्व नै संकटमा पर्न थालेपछि संरक्षणका लागि स्थानीयले चासो देखाएका थिए । मन्त्री लम्सालको स्वकिय सचिब किशोर सापकोटाले चालु आर्थिक वर्षदेखि नै उक्त पोखरीको संरक्षणको काम शुरु हुने बताउनुभयो । उहाँले अहिले रु २५ लाख बजेट बिनीयोजन भएको बताउँदै आगामी आर्थिक वर्षमा पुर्ण रुपमा मर्मत र पर्यटकीय दृष्टिकोणले विकास गर्नका लागि आवश्यक बजेट बिनीयोजन गर्ने जानकारी दिनुनभयो ।
साविक ठुलीपोखरी गाबिसको बिच भागमा रहेको यो पोखरी करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ । एक सय बर्ष भन्दा पहिले यो पोखरीको निर्माण गरिएको बताइन्छ । अहिले पोखरीबाट पानी चुहिने र बर्षा याममा समेत सुख्खा जस्तै हुने भएकाले संरक्षणको काम थालिएको ठुलीपोखरीका वडा अध्यक्ष राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशवाट बिनीयोजन भएको रकमले यसै आर्थिक वर्षभित्र अधिकांस कामहरु सम्पन्न गर्ने तयारी भएको छ ।
पोखरी संरक्षणका लागि भू– तथा जलाधार व्यवस्थापन कार्यालय मार्फत काम हुने भएको छ । उक्त पोखरीमा वर्षायाममा दुई महिना मात्रै पानी भरीने र बाँकी १० महिना सुख्खा हुने गरेको छ । अबदेखि पोखरीमा बाह्रैमास पानी भरी राख्ने, पोखरीको बीचमा मन्दिर निर्माण गर्ने र डुंगा संचालन गरी पर्यटकीय हिसाबले विकास गर्ने योजना रहेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
बजेटका लागि नेकपाका नेता तथा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मन्त्री लम्सालको स्वकीय सचिब किशोर सापकोटा, वडा अध्यक्ष राजेन्द्र पौडेल, युवा संघका नेता ढाकाराम सापकोटा, पत्रका लक्ष्मण सापकोटा पनि पटक पटक मन्त्रालयमा पुगेर आग्रह गर्नुभएको थियो ।
पोखरीको चारै भागमा प्लाष्टर गरि पानी चुहिनबाट रोक्नुका साथै यसलाई स्थानीयवासीको आयआर्जनसँग जोड्ने लक्ष्य रहेको स्थानीय ढाकाराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार यो पोखरीकै कारण साविकमा गाबिसको नाम समेत ठुलीपोखरी राखिएको हो भने पोखरी रहेकै क्षेत्र वरपर क्याम्पस, माबि, प्राथमिक स्वास्थ्यकेन्द्र, इलाका हुलाक लगायतका संरचना समेत रहेका छन ।
जिल्लाकै पहिचान संग जोडिएको यो पोखरीको संरक्षण भएमा ऐतिहासिकता र मौलिकता कायम हुने स्थानियबासीको अपेक्षा छ ।