
काठमाडौं– दुई अध्यक्षको जिम्मेवारी तयभएपछि सत्तारुढ नेकपाको पहिलो सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नेछन् ।
अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारको शिलशिलामा अस्पतालमै रहेकाले उनी बैठकमा सहभागी हुने छैनन्। प्रधानमन्त्री ओलीसँग सहमति लिएर दाहालले सचिवालय बैठक बोलाएका हुन्। मंगलबार सचिवालयका अन्य नेताहरुसँग पनि दाहालले छलफल गरेका थिए।
मंसिर ४ को सचिवालय बैठकले कार्यकारी भूमिकासहित पार्टी सञ्चालनको जिम्मेवारी दिएपछि दाहालको अध्यक्षतामा बस्न थालेको यो पहिलो बैठक हो।
बुधबार बिहान पार्टी कार्यालयमा बैठक बस्न लागेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए।
बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना, उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रिय कमिटीको बैठक र नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी सातै प्रदेशमा अभियान सञ्चालन लगाएतका एजेण्डामा छलफल हुने भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै अध्यक्ष दाहालले मंसिर २४ गतेलाई तय भएको आफ्नो चीन भ्रमण पनि स्थगित गरेका थिए।
मंसिर ४ गतेको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अध्यक्ष दाहालले कार्यकारी भूमिकासहित पार्टी सञ्चालन गर्ने निर्णय गरेको थियो।
पार्टी एकताको लामो समयपछि पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएपछि जिम्मेवारीलाई लिएर हुने गरेको ओली र दाहालबीचको विवाद पनि टुंगिएको थियो।
अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्दित हुने र अर्का अध्यक्ष दाहाल कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्दित हुने नेकपाको निर्णयसँगै दाहालले सक्रियता बढाएका थिए। उनी उपनिर्वाचनको प्रचारमा धेरै ठाँउ पुगेका थिए।
यसअघि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अर्थात भदौ ९ गते पनि दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो। पार्टी कार्यालयमा बसेको उक्त बैठकले सांगठनिक एकीकरणका केही काम टुङ्गायको थियो भने नेताकार्यकर्तालाई लागू हुने गरेर अनुशासनका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको थियो।