तरुण दल पर्वतका नेता परियारको क्यान्सर रोगका कारण निधन - News site from Nepal
तरुण दल पर्वतका नेता परियारको क्यान्सर रोगका कारण निधन

पर्वत/नेपाल तरूण दलका महाधिवेशन प्रतिनिधि एवं नेपाली काँग्रेस पर्वतका क्रियाशील सदस्य मिनबहादुर परियार खड्काको ३१ बर्षको उमेरमा आज निधन भएको छ । परियारको कुश्मा नगरपालिका वडा नं ४ स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

परियारलाई नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले तरूण दलको झण्डा र नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सभापति एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । खड्काप्रति अन्तिम श्रद्धाञ्जली दिँदै नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले खड्काको निधनबाट तरूण दललाई अपुरणीय क्षति पुगेको वताउनु भएको थियो । ‘खड्का जुझारु र साहसी युवा थिए, उनको निधनले संगठनलाई ठूलो क्षति पुगेको छ ।’- केन्द्रीय कोषाध्यक्ष गुरुङले भन्नुभयो ।

त्यसैगरी परियारको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सभापति एवं कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले परियारको निधनबाट नेपाली काँग्रेस पर्वत स्तव्ध र मर्माहत भएको वताउँदै खड्काजस्ता योद्धाको सम्झना पर्वत काँग्रेसले सँधै गरिरहने वताउनु भएको थियो । स्वर्गीय खड्का कुश्मा नगरपालिका वाड न ४ का वाड सदस्य हिना परियारका श्रीमान समेत हुन् । उनको जन्म २०४५ माघ २४ गते कुश्मामा भएको थियो । खड्कालाई बचाउन देश तथा विदेशबाट धेरैले आर्थिक सहयोग समेत संकलन गरेका थिए । स्वर्गीय खड्काको आजै गोपाङ्घाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!