
पर्वत ः आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि यहाँका एक युवा जीवन मरणको दोसाँधमा गुज्रिएका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरी स्थित चोरकाटेका ४२ वर्षिय विष्णु परियार उपचार गर्न आर्थिक समस्या भएपछि समस्यामा पर्नुभएको हो । चार वर्षसम्म मलेशियामा रोजगारी गरेर फर्किएका परियार दुवै मृगौला खराब भएपछि अहिले राजधानीमा उपचार गराईरहेनुभएको छ ।
उहाँ अहिले राजधानीको बुलन्दसिद्धि हस्पिटलमा उपचाररत हुनुहुन्छ ।
गरिब परिवारमा जन्मिनुभएका उहाँ मलेशियामै छँदा पिसावमा समस्या देखिएपछि नेपाल फर्किनुभएको थियो । मृगौला सम्वन्धि समस्या भएपछि उहाँ एक सातामै नेपाल फर्किएर परिक्षण गराउँदा दुवै मृगौला फेल भएको पाईएको थियो ।
गत वर्षदेखि उहाँले नियमित औषधी सेवन तथा जाँच गर्दै आउनुभएको छ । अहिलेसम्म रु. दश लाख रुपैया भन्दा बढि खर्च भैसकेको पिडित विष्णुकी श्रीमती लक्ष्मी परियारले बताउनुभयो । वदेशबाट कमाएर ल्याएको सवै पैसा सकिईसकेको छ, अहिले दैनिकजसो ऋण खोजेर डाईलासिस गर्ने र औषधीको जोहो गर्ने काम भएपनि मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव हुँदा समस्या भएको उहाँले बताउनुभयो ।
अब थप रु १० लाख रुपैया भएमा मृगौला प्रत्यारोपण गर्न सकिने अस्पतालले बताएपछि आर्थिक सहयोगका लागि अपिल गर्दै हिँडेको परियारले बताउनुभयो । उहाँले भन्नुभयो ‘कसैले सहयोग गरिदिएमा श्रीमानको उपचार हुनेथियो, नत्र यत्तिकैमा आश मार्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो । अहिलेसम्म गाउँमा, आफन्तजन र विभिन्न निकायवाट गरी झण्डै चार लाख रुपैया संकलन भएको थियो । उक्त रकमपनि सकिईसकेको छ ।
घरमा प्रसस्त जग्गा जमिन समेत नुहँदा विक्रि गरेर उपचार गर्न पनि नपाएको उहाँको गुनासो छ । उहाँले आफ्ना पतिको उपचारका लागि सक्दो सहयोग गरिदिन अपिल समेत गर्नुभएको छ । सँधैभरी डाईलासिस गर्दामात्रै थुप्रै रकम खर्च हुने गरेको छ । पिडित परियारकी श्रीमती लक्ष्मी सदरमुकाम कुश्माबजारमा सिलाईकटाई व्यावसाय गर्दै आएकी छिन् । तर उक्त कमाईले छोरा छोरीलाई खुवाउन र पढाउन समेत पुग्दैन । उपचारको कुरा त परै जाओस । एक छोरा एक छोरी रहेका उक्त परिवारमा एक वर्षदेखि बज्रपात परेको छ ।
शुरुमा विष्णुकी आमाले छोरालाई मृगौला दिने राजी भएपछि प्रत्यारोपणको तयारी गरेपनि पछि आमाले मृगौला दिन असहमति जनाएपछि झनै समस्या थपिएको लक्ष्मीले बताउनुभयो । यो समाचार धौलागिरि सञ्चार साप्ताहिकबाट साभार गरिएको हो । सासुआमाले मृगौला दिन्छु भन्नुभएको थियो, त्यसैले ढुक्क भएका थियौ, पछि घरमा आएपछि दिन्न भन्नुभयो, एकातिर खर्च बढ्योे अर्कोतिर खोज्न समेत समस्या भएको लक्ष्मीले रुँदै रासससँग भन्नुभयो । उहाँले श्रीमान्को जीवन रक्षाका लागि आवश्यक र सक्दो सहयोग गरिदिन सवै पक्षसँग माग गर्नुभएको छ ।