पर्वत र बागलुङका कृषकलाई हाईटेक ग्रिन हाउस र मोडेल फार्ममा अनुदान दिँदै ज्ञान केन्द्र - News site from Nepal

पर्वत : कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले साना कृषि मोडेल फार्म तथा ग्रिन हाउस निर्माण सहयोग कार्यक्रम संचालनको लागि आवेदन पेश गर्न कृषकहरुलाई अनुरोध गरेको छ । कार्यालय प्रमुख बरीष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीका अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा संचालन गरिने साना कृषि मोडेल फार्मका लागि आवेदन दिन भनिएको हो ।

साना कृषि मोडेल फार्म तथा ग्रिन हाउस निर्माण गर्न इच्छुक रहेका पर्वत र बागलुङ जिल्लाका कृषि सम्बन्धि उद्यमी, फार्म, कम्पनी, समूह तथा सहकारीले ३० दिन भित्रमा निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । यो योजना अन्तर्गत साना कृषि मोडेल फार्म र हाइटेक ग्रीनहाउस गरी दुई प्रकारका परियोजना रहने छन । साना कृषि मोडेल फार्म संख्या ३० हुने र अधिकतम अनुदान परियोजनाको पहिलो वर्षको लागतको ५० प्रतिशत वा बढीमा ५ लाख अनुमान गरिएको छ । यसैगरी हाईटेक ग्रिन हाउसको संख्या १० रहने र अधिकतम अनुदानको रुपमा लागतको ७० प्रतिशत उपलब्ध गराईने कार्यालय प्रमुख रेग्मीले बताए ।

गत आर्थिक वर्ष ०७५÷०७६ मा हाईटेक ग्रिनहाउस अनुदान पाएका उद्यमी, फार्म, कम्पनी, समूह तथा सहकारीले भने चालु आर्थिक बर्षमा हाईटेक ग्रिन हाउस टनेलमा अनुदान नदिइने पनि उहाँको भनाई छ । अनुदान लिने कृषि फार्म वा कम्पनीको हकमा संस्था दर्ताको प्रमाणपत्र, प्यान तथा भ्याट दर्ता पत्र र पछिल्लो आर्थिक बर्षको कर चुक्ता कागजात, अडिट रिपोर्ट, स्थानीय तहबाट सहयोग पाएको भएमा सो को जानकारी सहितको प्रमाण र कृषक वर्गीकरण परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!