पर्वत–ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेकपाका केन्द्रिय सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेकपा पर्वतले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै बक्ताहरुले स्वर्गिय अधिकारी गण्डकी प्रदेशकै मेरुदण्डको रुपमा रहेको बताउँदै उहाँको निधनले सिङ्गो प्रदेश अभिभावकबिहीन बनेको बताएका छन् । राजनीतिक, बैचारिक, सांगठिन लगायत बहुआयामिक प्रतिभाशालि व्यक्तित्व अधिकारीलाई गुमाउँदा पार्टीलाई अपुरणिय क्षति पगेको त छँदै छ गण्डकी प्रदशे समेत अभिभावक बिहीन बनेको नेताहरुले औत्याएका छन् ।
कार्यक्रममा नेकपाका केन्द्रय सदस्य तथा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेकपामा एकैपटक दुईवटा शोक आइपरेको बताउँदै पार्टीमा पहिलो पुस्ताको करिब अन्त्य हुनु र युवा नेतृत्वको अवसानका कारण ठुलो धक्का पुगेको बताउनुभयो । उहाँले मन्त्री अधिकारीले अघि सारेका कामहरु पुरा गर्नका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बतउँदै सिङ्गो पार्टीको ध्यान पनि स्वर्गिय रबीन्द्र अधिकारीले देखेका सपना र अघि सारेका कार्यक्रहरु पुरा गर्नतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले अहिले पार्टीको तल्लो तहसम्म एकता हुनमा केहि ढिलाई भैरहेको बताउँदै यसलाई तत्काल सम्पन्न गरेर मजबुत संगठन निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
सो अवसरमा नेकपाका अर्का केन्द्रीय सदस्य गुप्त हमालले स्वर्गिय भरतमोहन अधिकारी र रबीन्द्र अधिकारीको त्याग र बलिदानकै कारण आज नेकपा मुलुकको पहिलो शक्ति बनेको बताउँदै उहाँहरुलाई पार्टीले सँधै स्मरण गर्ने बताउनुभयो । अहिले सिङ्गो पार्टीले अभिभावक गुमाएको महसुस भएको बताउँदै शोकलाई शक्तिमा बदलेर पार्टी र मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने बेला आएको बताउँनुभयो । उहाँले रबीन्द्र अधिकारीसँग आफु निकै निकट रहेर काम गरेको स्मरण गर्दै उहाँ रहिदिएको भए यो पाँच वर्षमा सरकारले कल्पना गरेभन्दा पनि बढि उपलब्धि हासिल गर्न सक्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सदस्य तथा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेल, प्रदेश कमिटि सदस्य यज्ञ सुवेदी, प्रदेश कमिटि सदस्य हिरादेवी शर्मा, मनरुपा सुवेदी र जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य तोयानाथ चालिसे लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन नेकपाका नेता तथा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा सहभागि नेकपाका नेता कार्यकर्ताहरु माल्यार्पणका बेला भाबुक समेत बनेका थिए ।