बेनी : म्याग्दीको मालिका गाउँपालिका-७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि बिम जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीयले घटनास्थलमा चार जनाको शव भेटिएको जानकारी गराएका र दरवाङबाट इलाका प्रहरी कार्यालयको टोली घटनास्थल भर्खरै पुगेको प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माले जानकारी दिए।
‘स्थानीयले चार जनाको मृत्यु भएको जानकारी गराएका छन्। प्रहरीको टोली भर्खरै घटनास्थल पुगेको छ,’ प्रहरी निरीक्षक शर्माले भने। घटनास्थल पुगेका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले एक जनाको शव बाहिर निकालेको र तीन वटा शव गाडीले च्यापीएको अवस्थामा रहेको जानकारी गराएका छन्।
घटनास्थलमा रहेका किसानी मावि बिमका शिक्षक लक्ष्मण गौतमका अनुसार उपल्लो सडकबाट पल्टीएको बस एक घुम्ती तल पुगेको छ। साँझ साढे ६ बजेतिर दुर्घटना भएको हो। तीन जना महिला र एक जना बालकको शव भेटिएको शिक्षक गौतमले बताए।
घाइतेलाई उपचारका लागि दरवाङ प्राथमिक केन्द्रमा उपचारका लागि पठाइएको छ। स्थानीयबासी र सुरक्षाकर्मी उद्धारमा खटिएका स्थानीय प्रेम जुग्जालीले बताए।
बेनीबाट बिमका लागि छुटेको बस दरवाङमा पुगेर बिग्रिएपछि यात्रुलाई दुर्घटना भएको बसमा चढाएर बिम पठाइएको थियो।