मुख्य समाचार

पर्वत प्रशासनले फेरी राम्जादेउरालीमा शिविर संचालन गर्ने

By लोकतन्त्र अनलाईन

January 02, 2019

पर्वत–बिभिन्न कारणले समयमै नागरिकताको प्रमाण पत्र लिन नसकेकाहरुका लागि शिविर संचालन गर्दै आईरहेको जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लाको मोदी गाउँपालिका ७ राम्जामा शिविर संचालन गर्ने भएको छ ।

बृद्ध र अपांगता भएकाहरुलाई सदरमुकाम कुश्मामा आएर नागरिकताको प्रमाणपत्र लिन कठिन भएका कारण घुम्ती टोली मार्पmत शिविर संचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । राम्जामा यही पुषको २६ गते बिहीबार १ दिनको लागि शिविर राखिएको हो । राम्जामा केन्द्र राखेर सेवा प्रवाह गर्दा राम्जा सहित मोदी गाउँपालिका ८ चित्रे र कुश्मा नगरपालिका ११ पकुवाका नागरिकहरुलाई सजिलो हुने प्रशासनको भनाई छ । शिविरमा नयाँ नागरिकताको प्रमाण पत्र बनाउनुको साथै हराएकाहरुको प्रतिलिपि पत्र, पेन्सन सिफारिस, दलित र जनजाति प्रमाणित पनि गरिने छ ।

उक्त शिविरमा जिल्ला निर्वाचन कार्यालय पर्वतको टोली पनि समावेश गरिने भएको छ । निर्वाचन कार्यालयको टोलीले नयाँ नागरिकता लिनेहरुको फोटो सहितको मतदाता नामावली संकलन गर्ने छ । नागरिकता भएर पनि यस अगाडि कसैको नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता नगराएको भएमा त्यसरी छुट भएकाहरुको पनि नामावली दर्ता गरिने जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले जानकारी दिनुभयो । यस अगाडि प्रशासनको टोलीले फलेवास नगरपालिका २ थापाठानामा पुगेर यस्तै शिविर संचालन गरेको थियो ।