७ प्रस्ताव पारित गर्दै गण्डकी प्रदेश पर्यटन बर्ष मुल आयोजक समितिको प्रथम बैठक सम्पन्न - News site from Nepal


प्रदेश सरकारले पर्यटनलाई प्रादेशिक अर्थतन्त्रको प्रमुख आधारशिला मानेको छःमुख्य मन्त्री गुरुङ

माधव पराजुली,पोखरा
गण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९ मुल आयोजक समितिको प्रथम बैठक ७ बुुुँधे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सोमबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा पोखराको दोबिल्लामा बसेको मुल आयोजक समितिको प्रथम बैठकले कार्ययोजनामा संशोधन गर्ने ,कार्यविधि तयारी गर्ने,कार्यक्रमको तिब्र तयारी गर्ने,जिल्ला र पालिकास्तरीय समितिलाई पूर्णता दिने,जिल्ला र पालिकास्तरीय समितिको कार्यविधि तथा कार्यक्रम निर्माण गर्ने, कार्यान्वयन तथा मूल आयोजक समितिको पूर्णता दिने र पर्यटन सम्बन्धित गतिविधि तथा समन्वय गर्ने गरि सात प्रस्ताव पारित गरेको हो ।
समितिले यस अघि निर्माण गरिएको कार्ययोजना सन् २०१९ सम्मको लागि मात्र निर्माण भएकोमा अब उक्त कार्ययोजना संशोधन गरी नेपाल सरकार र प्रदेश सरकारले घोषणा गरेका पर्यटन वर्षहरु (आन्तरिक पर्यटन वर्ष २०१९, छिमेकी देशका पर्यटक आकर्षण वर्ष २०२० तथा अन्तराष्ट्रिय पर्यटन वर्ष २०२२) समेतलाई आधार मानेर कार्ययोजना संशोधन गर्ने निर्णय गरेको छ । साथै मूल आयोजक समिति, उपसमितिहरु तथा कार्यक्रम कार्यन्वयन उपसमितिहरुको समयावधि समेत २०२२ सम्म लम्बाउने निर्णय पनि गरेको छ ।
जिल्ला तथा गाउँ र नगरपालिका स्तरीय पर्यटन वर्ष समितिको पूर्णता दिनको लागि सम्बन्धित समन्वय प्रमुख तथा गाउँ र नगरपालिका प्रमुखको अध्यक्षतामा ९ सदस्य समिति निर्माणका लागि सम्बन्धित समितिको छलफलबाट निर्माण गर्ने निर्णय समेत गरेको संयोजक जुद्ध गुरुङले जानकारी दिनुभयो । मुल समितिले विभिन्न ९ उपसमितिका संयोजक समेत चयन गरेको छ ।


गण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९ मुल आयोजक समितिको प्रथम बैठक लाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन विकास र विस्तारबाटनै गण्डकी प्रदेशको समृद्धि सम्भव देखेर प्रदेश सरकारले पर्यटनलाई प्रादेशिक अर्थतन्त्रको प्रमुख आधारशिला मानेको बताउनुभयो । गण्डकी प्रदेश मौलिक कला संस्कृति,प्राकृतिक एवम् ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधता गण्डकी प्रदेशका अमुल्य निधि रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले पर्यटकको बसाई लम्ब्याउने नयाँ पर्यटकीय स्थलहरुको खोजी गर्दै तिनको प्रवद्र्धन र पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकार निरन्तर लागिरहेको बताउनुभयो ।
उहाँले प्रदेश भित्रका महत्वपूर्ण पर्यटकीय स्थलहरु सुन्दर नगरि पोखरा,विश्वमै अग्लो स्थानमा रहेको तिलिचो ताल,हिडन ट्रेनरका रुपमा रहेको हिमालपारीको जिल्ला मुस्ताङ्,मानाङ, र उत्तरी गोरखा,हिन्दुहरुको पवित्र भुमी मुक्तिनाथ,विश्व प्रख्यात पदमार्गहरु,ढोरपाटन शिकार आरक्ष,शालिग्राम उत्पादन गर्ने एक मात्र कालिगण्डकी नदी लगाएतका स्थानहरुले पर्यटक आकर्षण गर्नमा महत्व्पूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विश्वका विभिन्न मुलुकहरु सँग सिधा सम्पर्क जोडिने र प्रदेशमा पर्यटकको सख्या वृद्धि हुने दावी समेत गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य डा.विष्णु बराल,उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब विष्णु प्रसाद भण्डारी लगाएतले पर्यटन विकास,सम्भावना र चुनौतीका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मूल आयोजक समितिको प्रथम बैठकका एजेण्डाहरु

प्रस्ताव १ कार्ययोजनामा संशोधन
यस अघि निर्माण गरिएको कार्ययोजना सन् २०१९ सम्मको लागि मात्र निर्माण भएकोमा अब उक्त कार्ययोजना संशोधन गरी नेपाल सरकार र प्रदेश सरकारले घोषणा गरेका पर्यटन वर्षहरु (आन्तरिक पर्यटन वर्ष २०१९, छिमेकी देशका पर्यटक आकर्षण वर्ष २०२० तथा अन्तरार्ष्ट्रिय पर्यटन वर्ष २०२२) समेतलाई आधार मानेर कार्ययोजना संशोधन गर्ने निर्णय गरियो । साथै मूल आयोजक समिति, उपसमितिहरु तथा कार्यक्रम कार्यन्वयन उपसमितिहरुको समयावधि समेत २०२२ सम्म लम्बाउने निर्णय गरियो ।     

प्रस्ताव २ कार्यविधि तयारी
आन्तरिक पर्यटन वर्ष २०१९ लगायतका पर्यटन वर्षहरु मनाउन गठित मूल आयोजक समितिको कार्यविधि निर्माण तथा स्वीकृति गर्ने जिम्मेवारी  उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरियो ।

प्रस्ताव ३ कार्यक्रम तयारी
आन्तरिक पर्यटन वर्ष २०१९ लगायतका पर्यटन वर्षहरु मनाउने कार्यक्रम तयारी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवज्यूको अध्यक्षतामा बनेको कार्यक्रम कार्यान्वयन उपसमितिलाई जिम्मेवारी दिने र सो कार्ययोजनाको स्वीकृति मूल आयोजक समितिबाट हुने निर्णय गरियो ।

प्रस्ताव ४ जिल्ला र पालिकास्तरीय समितिको पूर्णता
जिल्ला तथा गाउँ/नगरपालिकास्तरीय पर्यटन वर्ष समितिको पूर्णता दिनको लागि सम्बन्धित समन्वय प्रमुख तथा गाउँ/नगरपालिका प्रमुखको अध्यक्षतामा ९ सदस्य समिति निर्माणका लागि सम्बन्धित समितिको छलफलबाट निर्माण गर्ने निर्णय गरियो ।

प्रस्ताव ५ जिल्ला र पालिकास्तरीय समितिको कार्यविधि तथा कार्यक्रम निर्माण र कार्यान्वयन सम्बन्धमा

जिल्ला तथा गाउँ/नगरपालिकास्तरीय पर्यटन वर्ष समितिहरुले सम्बन्धित समितिहरुले आ-आफ्नो कार्यविधि र कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने तथा सोको जानकारी प्रदेश मन्त्रालयलाई दिने निर्णय गरियो । 

 प्रस्ताव ६  मूल आयोजक समितिको पूर्णता सम्बन्धमा

गठित यस मूल आयोजक समितिको अनुमोदन गर्दै बाँकी सदस्यहरुको मनोनय समन्वयात्मक तरिकाबाट समावेशी बनाउँदै सदस्यहरुको मनोनयन गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पूर्णता दिने निर्णय गरियो ।

प्रस्ताव ७ पर्यटन सम्बन्धित गतिविधि तथा समन्वय गर्ने

प्रदेश मन्त्रालय तथा स्थानीय तहमा पर्यटन वर्षहरु मनाउने सन्दर्भमा गरिने विभिन्न गतिविधिहरु मन्त्रालय तथा स्थानीय तहलाई जानकारी गराउँदै कार्यक्रम कार्यान्वयनमा समन्वय र सहकार्य गर्ने निर्णय गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!