
पर्वत– बुधवार दिउँसो एक्कासी आएको ठुलो हुरीबतास र असिनापानीका कारण पर्वतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
असिना र हाबाहुरीले खेतवारीमा लगाएको मकै लगायत तरकारी बालीमा क्षति पुगेको छ भने विभिन्न ठाउँमा स्थानीयका घरका छाना तथा विद्यालय भत्किएको छ । ठुलो आँधिहुरीका कारण सदरमुकाम कुश्माबजारका विभिन्न भागमा रुखहरु ढलाउनुका साथै कच्ची घरका छानाहरु उडाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पर्वतको कुश्मा नगरपालि का वडा नं. १२ ठूलीपोखरीस्थित जनज्योती प्राविको चार कोठे भवनको पुरै छाना उडाउनुका साथै विद्यायको भवनमा समेतमा क्षति पुगेको छ ।
विद्यालयको छाना उडाएपछि विद्यार्थीको पढाई समेत प्रभावित हुने भएको छ । बुधवार अन्तर्राष्टिूय श्रमिक दिवसका कारण विद्यालय बन्द रहेका कारण मानविय क्षति हुन नपाएको स्थानीय दिपक सुवेदीले जानकारी दिए । उनका अनुसार विद्यालय तत्काल मर्मत गर्न नसकेमा पठन पाठन सुचारु गर्न समस्या हुने भएको छ । कक्षा तीन सम्म पठनपाठन हुने उक्त विद्यालयमा झण्डै १ सय जना विद्यार्थी छन् । त्यस्तै प्रगति प्रावि आर्थर डाँडाखर्कको भवनको छाना समेत उडाएको छ । तीन कोठे भवनको छाना उडाएको हो ।

यता जिल्लाको पिपललटारी, कटुवाचौपारी, शंकरपोखरी, धाईरिङ्ग, पाङ, दुर्लुङ्ग लगायतका क्षेत्रमा पनि हाबाहुरीका कारण बालीनाली र कच्ची घर तथा सार्वजनिक भवनहरुमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
त्यस्तै जिल्लाको जलजला गाउँपालिकाको शालिजा, धाईरिङ, बनौ, कुश्मा नगरपालिकाको पिपलटारी, ठुलीपोखरी, खौलालाकुरी र मोदी गाउँपालिकाको देउपुर, महाशीलाको लुंखुदेराली लगायतका क्षेत्रमा बाक्लो असिना परेको छ । आधा घण्टा भन्दा बढि समय परेको असिनाले बालीनालीमा ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कार्याल प्रमुख बासु रेग्मीका अनुसार प्लाष्टिकका टनेल र बेमौसमी तरकारीमा ठुलो क्षति पुगेको भएपनि यकिन विवरण भने आईसकेको छैन । उता दक्षिण पर्वतको विहादी, महाशीला, पैंयु र फलेवास नगरपालिकाका विभिन्न वडाहरुमा पनि हाबाहुरी र असिनापानीले क्षति पु¥याएको स्थानीयले जानकारी दिएका छन् । त्यसैगरी बागलुङको बलेवा र गलकोट क्षेत्रमा पनि हावाहुरीले क्षति पुगेको ज्ञान केन्द्रले जनाएको छ ।
हावाहुरीले रुखहरु ढल्दा विभिन्न क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख स्यामु अर्यालका अनुसार विभिन्न ठाउँमा घरको छाना उडाएको र रुखहरु ढलेपनि मानविय र पशु चौपायाको क्षति भने नभएको जानकारी दिए । उनले हाबाहुरीले पु¥याएको क्षतिको विवरण संकलनको काम भैरहेको बताए । उनका अनुसार देविस्थान र कार्किनेटामा पनि दुईवटा घरको छाना उडाएको छ ।