पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले राजनैतिक दलहरुका बिचमा सहमतिमै अबरुद्ध संसद सुचारु हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।
जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको स्थानिय तहको समिक्षा गोष्ठीमा बोल्दै अध्यक्ष तिमिल्सीनाले सहमतिमै संसदका नियमित प्रकृयाहरु सञ्चालन हुँदैआएको बताउँदै यसपटक पनि सहमतिमै अबरुद्ध संसद सुचारु हुने बिश्वास ब्यक्त गर्नुभएको हो।
प्रमुख प्रतिपक्षी दलले राखेका मागहरु सरकारले सम्बोधन गरिसकेको र सहमतिमा नै बसेर अबरुद्ध संसदका प्रकृयाहरु सुचारु गरिन्छ भन्नुभयो । उहाँले सम्बैधानिक आयोगका पदाधिकारी नियुक्तीमा परिषदले कुनै त्रुटी नगरेको बताउनुभएको छ ।
सम्बैधानिक आयोगका पदाधिकारी नियुक्ती गर्दा सबै प्रकृया पुरा भएका कारण कुनै त्रुटी नभएको स्पष्ट पार्नुभएको हो । सम्बैधानिक परिषदको बैठकमा सहमतिका प्रयास लामो समय गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनैतिक रुपमा धेरै सहमतिको प्रयासपछि सम्बैधानिक आयोगको रिक्त पदाधिकारीहरु नियुक्त भएको भनाई अध्यक्ष तिमिल्सीनाको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा सरकारले प्राकृतिक तथा बित्त आयोगको प्रमुखमा बालानन्द पौडेल, समाबेशी आयोगमा शान्तराज सुबेदी, मधेशी आयोगमा बिजयकुमार दत्त , थारु आयोगमा बिष्णुराम चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई नियुक्त गरेको थियो । उक्त नियुक्ती प्रति नेपाली कांग्रेसले असहमति राख्दै आएको छ ।
सम्बैधानिक परिषदका सदस्य समेत रहेका राष्ट्रियसभाका अध्यक्ष तिमिल्सीनाले प्रमुख प्रतिपक्षी दलको नेता अनिवार्य रुपमा उपस्थित हुन नपर्ने सम्बैधानिक ब्यबस्था रहेको र सहमतिको प्रयास गर्दा र बैठकमा खबर गर्दा अनुपस्थित भएपछि बाध्य भएर निर्णयमा पुगेको दाबी गर्नुभयो । उहाँले अझै केही आयोगहरुमा पदाधिकारी तथा अन्य आयोगमा सदस्य नियुक्ती गर्न बाँकी रहेका कारण सहमतिको संभावना छ भन्नुभयो । ‘सम्बैधानिक आयोग नियुक्तीमा ढिलाइभएपछि सहमतिको प्रयास पछि अन्तिम समयमा आएर नियुक्ती गरिएको हो, यसमा कुनै त्रुटि भएको छैन’ उहाँले भन्नुभयो ‘ अझै सहमतिको संभावना छ, सहमतिकै आधारमा परिषद अघि बढ्छ’
अर्को प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सीनाले संघीय संसदको चालु हिउँदे अधिबेशनबाट स्थानिय तहका लागि आवश्यक सबै ऐन बन्ने आश्वासन दिदै त्यसपछि कामको गति बढाउन स्थानिय तहलाई आग्रह गर्नुभयो । उहाँले स्थानिय तहले आवधिक र दिर्घकालिन गूरुयोजना बनाएर अघि बढ्न सुझाब दिदै त्यसका आधारमा संघ र प्रदेश संग सहकार्य गर्दा धेरै राम्रा उपलब्धी हासिल गर्न सकिने सुझाब पनि दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री बिकास लम्सालले स्थानिय तहलाई सहयोग पुग्ने गरि प्रदेशले काम गरिरहेको बताउँदै समन्वय र सहकार्यका आधारमा धेरै काम गर्न सकिन्छ भन्नुभयो । प्रदेश सरकारले पर्वतलाई केन्द्रमा राखेर पर्यटन र पुर्वाधारका क्षेत्रमा ठुलो बजेट बिनियोजन गरेको बताउँदै पर्वतमा ३ सय किलोमिटर सडक कालोपत्रे गरिने प्रतिबद्धता जनाउनुभयो । प्रतिनिधीसभाका सदस्य पदम गिरीले पर्वतमा अबको पाँच बर्षमा सोचे भन्दा धेरै काम गर्न सकिन्छ भन्नुभयो । उहाँले पर्वतको बिकासका लागि संघ, प्रदेश र स्थानिय तहको समन्वयमा काम भैरहेको बताउँदै हामी सबै जनप्रतिनिधी मिलेर काम गर्दा पर्वतको काँचुली फेर्न सकिन्छ भन्नुभयो । प्रदेशसभा सदस्य जुनादेबी नेपालीले पर्वतको बिकासका लागि प्रदेशसभामा आफुँले प्रयत्न गरिरहेको बताउँदै पर्वतको पर्यटन, भौतिक पुर्वाधार र शैक्षिक क्षेत्रमा परिर्वतन गर्न भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जिल्ला न्यायधीश सुर्यबहादुर थापा, महासिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल, पैंयु गाउँपालिकाका प्रमुख खगेन्द्र तिवारी, बिहादी गाउँपालिकाका प्रमुख कमल भुसाल, नेकपाका जिल्ला नेता गोबिन्द पहाडी, नेपाली कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, गैसस महासंघ पर्वतका अध्यक्ष शिबप्रसाद शर्मा र नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारीले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख यामकुमारी रानाले स्वागत तथा जिल्ला समन्वय अधिकारी बिष्णुप्रसाद भुसालले सञ्चालन गरेका थिए । कार्यक्रममा सात वटै स्थानिय तह र जिल्ला समन्वय समितिको तर्फबाट प्रस्तुती राखिएको थियो ।