पर्वतको तिलाहारमा देउसीभैलोको रकम सामाजिक काममा सहयोग - News site from Nepal
पर्वतको तिलाहारमा देउसीभैलोको रकम सामाजिक काममा सहयोग

पर्वत- पर्वतको मोदी गाउँपालिका ६ तिलाहरमा देउसीभैलो खेलेर संकलन भएको रकम सामाजिक कार्यमा लगानी गरिएको छ ।
डिमूवा टोल विकास समितिको अगुवाईमा भएको देउसीभैलो बाट संकलन भएको रकम थाना मन्दिरमा माइको थान मर्मतका लागि सहयोग गरिएको छ भने टोलमा सडक मर्मत सम्भारका लागि रकम सहयोग गरिएको छ ।
साविक तिलाहार गाविस वडा नम्बर ४ को थाना मन्दिरमा माईको थान मर्मत सम्भारका लागि ४४ हजार २ सय २५ सहयोग गरिएको छ भने ४४ हजार रुपैयाँ डिमूवाको भित्रि सडक मर्मतका लागि सहयोग गरिएको डिमूवा टोल विकास समितिका अध्यक्ष दिपेन्द्र जंग लामिछानेले जानकारी दिनुभयो । तिलाहार पञ्चेबाजा समूह संग सहकार्य गरेर देउसीभैलो खेलिएको थियो । झण्डै ११० घरमा देउसीभैलो खेलेर रकम संकलन गरिएको थियो ।
टोल विकास समितिले पञ्चेवाजा समूहको संरक्षणमा रहेको मन्दिरलाई रकम प्रदान गरेको अध्यक्ष लामिछानेले बताउनुभयो । टोल विकास समितिले यसअघि पनि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आईरहेको छ । टोलमा फोहोर व्यवस्थापन, मदिरा नियन्त्रण कार्यक्रम सञ्चालन हुँदै आएको छ । मोदी गाउँपालिका र टोल विकास समितिको सक्रियतामा डिमूवामा २४ वटा सडक बत्ती समेत जडान गरिएको छ भने वेतनीमा ४ वटा सोलार वत्ती जडान गरिएको छ ।
टोल विकास समितिले गर्दै आएको सामाजिक कार्यको स्थानीयले प्रसंसा गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!