
काठमाडौँ : “रातभर सुत्न पाउँदिनँ, अनिँदो रहनुपर्दा दिनमा नि काम गर्न सक्दिनँ अनि सुुरु हुन्छ सासूको कचकच,” यी भनाइ हुन् १६ वर्षमै भागी विवाह गरेपछि १७ को उमरमै आमा बनेकी सवनम स्याङ्तानको ।
नुवाकोट तादी गाविस, अमारे–६ निवासी आफैँ खेल्ने उमेरकी स्याङ्तानले बच्चा जन्माएपछि पाएको सास्ती बयान गर्दै भन्नुहुन्छ, “मैले स्याहार्न नजानेर हो कि, के भएर हो, बच्चा धेरैजसो रातभर रोइरहन्छ, बच्चालाई रुवाएको भन्दै घरका सबैले गाली गर्छन् ।” सवनमले २०७४ सालको एसईई परीक्षा दिएपछि नतिजा पनि नकुरी प्रेमीसँग भागेर विवाह गर्नुभयो । त्यसको एक वर्षपछि नै आमा बनिन्। “विवाह छिटो गर्नुहुन्न भनेर नजानेको पनि होइन, परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने पनि थाहा थियो तर श्रीमान्लाई छिट्टै बच्चा चाहियो, उनले पढेको छैन्, विवाह र बच्चा पाउने उमेरबारे मैले जानेर पनि व्यवहारमा लागू गर्न नसक्दाको परिणाम म झेल्दैछु,” उनले भनिनन्। हाल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना भई बच्चा जन्मने दिनको पर्खाइमा रहेका सुवास थिङको जोडीको वास्तविक कथा पनि सानै उमेरमा गर्भवती हुुनुको बेफाइदासँगै जोडिएको छ।
सुवासकी श्रीमती डोल्मा पनि कक्षा ८ मा पढ्दै छन्। कक्षा १० मा पढ्ने सुवाससँगको प्रेम सफल बनाउन भागेर विवाह गरे। १७ वर्षको उमेरमा आमा बन्न लाग्दा पेटमा बच्चा नबढ्ने समस्या भएकाले अस्पताल नै भर्ना भएर उपचार गराएका छिन्। नुवाकोट बेलकोट गाविस, देउरालीका डोल्मालाई गाउँको स्वास्थ्य चौकीले थापाथलीस्थित प्रसूति अस्पताल जान सुझाव दिएपछि यहाँ आएकी हुन्। बच्चा जन्मने समयभन्दा एक महिना अगाडिदेखि अस्पताल भर्ना हुनुपर्दा खर्चको पिरलोले सुवास छटपटिररहेकी छन्।
दुवैको उमेर सानो छ, रोजगारी पनि छैन, आमाबुवा बन्नुको जिम्मेवारीको बोझले थिचिएको अनुभव गरिरहेको सुवासले बताए भन्ने खबर गाेरखापत्र दैनिकमा छ। कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यस्तो सन्देश दिने जिङ्गल सुने पनि व्यवहारमा भने कार्यान्वयन भएको छैन ।
सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या भने अहिले पनि कम छैैन । सानै उमेरमा आमा बन्नेको सङ्ख्या धेरै रहेको अस्पतालको तथ्याङ्कले पनि देखाउँछ। पनौती नगरपालिका–१० खोपासीस्थित प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्कअनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना त २० वर्षभन्दा कम उमेरका किशोरी छन् । सो अस्पतालका इन्चार्ज जनस्वास्थ्य अधिकृत शुभाकर श्रेष्ठले भने, “सो स्वास्थ्य चौकीमा ग्रामीण इलाकाका महिला प्रसूति सेवा लिन आउँछन् । ग्रामीण भेगमा स्कुले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी उमेरमै आमा बन्नेको सङ्ख्या बढिरहेको छ।”
साथै किशोरी उमेरका गर्भवती जाँच गराउन आउँदा पर्न सक्ने शारीरिक, मानसिक र आर्थिक सबै प्रकारको समस्याका बारेमा सम्झाएर पठाउने गरेको जानकारी उहाँले दिनुभयो । राजधानीमै रहेको प्रसूति सेवा दिने मुलुककै जेठो अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार २२ हजार १४७ जनाले प्रसूति सेवा लिएकामा दुई हजार ६८५ जना २० वर्षभन्दा कम उमेरका छन्। त्यति मात्र होइन, सात जना १२ देखि १४ वर्ष उमेर समूहका थिए। यस्तै महाराजगञ्जस्थित शिक्षण अस्पतालको तथ्याङ्कले पनि किशोरी उमेरमा आमा बन्नेको सङ्ख्या अहिले पनि कायमै रहेको देखाउँछ। गत आर्थिक वर्षमा त्यस अस्पतालमा प्रसूति सेवा लिएका पाँच हजार ९१ जनामध्ये १७० जना २० वर्षभन्दा कम उमेरका थिए । गत वर्षको भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी ९संहिता० ऐन २०७४ को पारिवारिक कानुनको परिच्छेद १ का अनुसार विवाह गर्ने उमेर केटा र केटीको २० वर्ष तोकिएको छ।
उमेर नपुगी विवाह गर्दा कतैबाट उजुरी परे गल्तीको प्रकृति हेरी ९जबर्जस्ती वा ललाइफकाई० विवाह गराउने घरपरिवार वा नातेदारसमेतलाई कारबाही हुने अधिवक्ता राजु खड्का बताछन्। २० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनी रूपमा त्यसले मान्यता नपाउनेसम्मको प्रावधान रहेको अधिवक्ता खड्काको भनाइ छ। सरकारले कानुन नै बनाएर विवाह गर्ने उमेर २० वर्ष तोके पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा सानैमा विवाह गर्ने प्रवृत्तिलाई रोक्नु ठूलो चुनौती देखिएको छ।