पर्वत – पर्वतका मगरहरुको साझा संस्था पुन क्लबको आयोजनामा आउँदो फागुनमा पहिलो पटक पुन महोत्सव आयोजना हुने भएको छ ।
३७ औँ मगर दिवस तथा क्लब स्थापना भएको एक दशक पूरा भएको उपलक्ष्यमा यस अगाडि गरिँदै आएको मेलालाई यस पटक भने महोत्सवको रुपमा आयोजन ागर्न लागिएको क्लबले आज पत्रकार सम्मेलन मार्पmत जानकारी गराएको हो । आउँदो फागुन ७ गतेदेखि १५ गतेसम्म ९ दिनको लागि कुश्माको बडागाउँमा रहेको खेलकुद मैदानमा महोत्सव आयोजना गरिने क्लबका अध्यक्ष कृष्ण पुनले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
झण्डै १ सय २० स्टलहरु रहने महोत्सवमा रमाईलो मेला, कृषि प्रदर्शनी, स्थानीय खाना लगायतका स्टलहरु रहने छन् । त्यस्तै, महोत्समा पर्वत जिल्लाका पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गरिने छ । जसको प्रथम पुरस्कार १ लाख २० हजार २ सय २२ रुपैयाँ र द्धितिय पुरस्कार ७५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र राखिएको छ । यस्तै, प्रतियोगितालाई फरक बनाउन मगरहरुको मुख्य नाच सोरठी नृत्य प्रतियोगिता पनि राखिएको छ । जसमा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई क्रमश नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार दिईने छ । यसैगरी, गाउँ गाउँमा रहेका प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले डान्स आईडल पनि संचालन गरिने भएको छ । आईडलमा बिजेता बन्नेलाई ३० हजार, फस्ट रनर अपलाई २० हजार र सेकेण्ड रनर अपलाई १० हजार रुपैयाँ नगद पुरस्कार राखिएको छ । यस्तै, खुल्ला लोक दोहोरी गीत प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय बन्नेहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
महोत्सवमा मगरहरुको कला संस्कृति झल्किने बिभिन्न प्रस्तुतीहरु पनि रहने क्लबका निवर्तमान अध्यक्ष जीवन पुनले जानकारी दिनुभयो । अग्ला पुलहरुको रुपमा चिनिएको पर्वतमा पर्यटन प्रवद्र्धन गर्नको लागि महोत्सव महत्वपूर्ण हुने उहाँको भनाई छ । पुन क्लबको पहिलो महोत्सवबाट बचत भएको रकमले मगर संग्रहालय निर्माण गर्ने उद्धेश्य राखिएको छ । महोत्सवमा पर्वत जिल्लाकै महोत्सवहरुमध्ये पहिलो पटक ६० बर्ष उमेर पार गरेका जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेश दिईने छ भने विद्यार्थीहरुलाई टिकटमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुले पनि प्रस्तुती दिने क्लबले जनाएको छ ।