मनोरञ्जन

चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान सुटुक्क काठमाडौंमा

By लोकतन्त्र अनलाईन

November 30, 2018

१४ मंसिर, काठमाडौं । चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान आफ्नो ‘द स्टोरी अफ गड’ टीभी श्रृंखलाको छायांकन गर्न काठमाडौं आएका छन् ।

फ्रिम्यान नेपालमा रहेको जानकारी युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो ट्वीटर ह्याण्डलमार्फत् सार्वजनिक गरेको छ।

 

आफ्नो गहकिलो आवाजका कारण चर्चा बटुलेका ८१ वर्षीय फ्रिम्यानले इन्भिक्टस चलचित्रमा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए । उनका अन्य चर्चित चलचित्रहरूमा सस्याङ्क रिडेम्प्सन, मिलियन डलर बेबी र ड्राइभिङ मिस डेजीलगायत छन् । सन् २००४ मा उनले मिलियन डलर बेबीमा निभाएको भूमिकाका लागि सर्वोत्कृष्ट सपोर्टिङ एक्टर अस्कर दिइएको थियो ।

फ्रिम्यानको भ्रमणबारे मिडियालाई जानकारी दिइएको छैन ।

धर्म, आस्था र भगवानबारे संसारभरका मानिसको धारणा बुझ्नु फ्रिम्यानको टीभी शृंखलाको ध्येय रहेको नेसनल जियोग्राफिकको वेबसाइटमा उल्लेख छ ।

उनले काठमाडौंमा के छायांकन गरे भन्ने खुलेको छैन । थाहा पाउन उनकै टिभी कार्यक्रम हेर्नुपर्ने छ ।