
छ घण्टा कुर्नुभन्दा यो मार्गहुँदै जानु उचित
पर्वत– सडक फराकिलो र स्तरउन्नतीका लागि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड आज देखि दैनिक ६ घण्टा बन्द गरिँदै छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने कास्की र पर्वतको सिमाना अँधेरीखोला देखि डिमुवाबजार सम्म दैनिक ६ घण्टा बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा गत सोमबार बसेको बैठकले बिहान १० बजे देखि साँझ ४ बजे सम्म सडक बन्द गर्ने निर्णय भएको थियो । तर राजमार्ग बन्द भएपनि पोखरा जानका लागि भने बैकल्पिक सडक प्रयोग गर्न सकिने बिकल्प भने खुला रहेको छ ।
बैकल्पिक सडकको रुपमा दोबिल्लादेखि ठुलीपोखरी हुँदै आर्थरको अधेरीनेटाबाट स्याङ्जाको फुलबारीमा निस्केर पोखरा जान सकिने भएको छ । त्यसका लागि पर्वतको दोविल्लाबाट फलेवास तर्फको सडकमा जाने, सिल्मीमा रहेको ठुलीपोखरी चोकदेखि माथि ठुलीपोखरीतर्फ लाग्ने र ठुलीपोखरीको मातेपानीदेखि रोहोटे, ऐसेलुचौर हुँदै आर्थरको अँधेरीनेटा पुगेपछि स्याङ्जाको फुलवारीतर्फ मोडिएर पोखरा जान सकिने भएको छ । ६ घण्टा सवारी साधन रोक्नु भन्दो एक घण्टा बढि समय खर्चिएर उक्त मार्ग प्रयोग गरेमा तीन घण्टामै पोखरा पुग्न सकिने स्थानीयले बताएका छन् ।
अहिले ठुलीपोखरीदेखि सोहि बाटो हुँदै दैनिक पोखरा बस सेवा संचालन भैरहेको छ ।
एम्बुलेन्स र अत्यावश्यक सवारी साधनहरुले बाहेक अन्य सवारीसाधनहरुले उक्त रुट प्रयोग गर्न सकिने निर्माण कम्पनीले पनि सुझाव दिएको छ । सडकमा धुलो भएपनि फराकिलो र गुणस्तरीय भएकाले लामो समय कुर्नभन्दा सोहि मार्ग हुँदै पोखरा जानका लागि सरोकारवालाहरुले आग्रह गरेका छन् ।
उक्त बैकल्पिक रुट प्रयोग गर्दा झण्डै १५ किलोमिटर बढि लाग्ने अनुमान गरिएको छ ।