पर्वत – बागलुङको बलेवाकी मानकुमारी पौडेल मोदीवेणीमा बस्न थालेको तीन दशक नाघिसक्यो । बागलुङकै लक्ष्मी पौडेल पनि १८ वर्षदेखि मोदीवेणीमा बस्दैआएकी छन् ।
पर्वतको फलेवास–३ की खगेश्वरी गौतम यहाँ बस्न थालेको ३३ वर्ष पुग्यो ।
पौडेल र खगेश्वरीजस्ता समय कटाउन मोदीवेणीस्थित ज्येष्ठ नागरिक आश्रम रोज्नेको संख्या करिब दुई दर्जन छ । सुरुमा यहाँ बस्दा समय कटाउन पट्यार लाग्ने भए पनि हिजोआज त्यस्तो छैन ।
धार्मिक कामका लागि आवश्यक पर्ने बत्ती कातेर सहज ढंगले समय बितेको छ । पितृ उद्धारका लागि लाख तथा करोड बत्ती बाल्नेहरूले यहाँका वृद्धाहरूसँग अर्डर गर्छन् । एक लाख बत्तीलाई ८ हजारदेखि २५ हजार सम्म तिरेर लैजाने ग्राहकहरूको यहाँ कमी हुँदैन ।
एक जनाले दिनमा एकदेखि पाँच हजारसम्म बत्ती कात्नेगरेको उनीहरूले बताए । ‘पाँच देखि २१ सुते बत्तीको माग आउँछ,’ लक्ष्मीले भनिन्, ‘पाँच सुतेलाई आठ हजारमा बेच्छौं । २१ सुतेलाई २५ हजारमा ।’ एक लाख बत्ती तयार गर्दा दुईदेखि पाँच हजारको धागो किन्नुपर्छ । धागोबाहेक बत्ती तयार गर्दा ६ देखि २० हजारसम्म आम्दानी हुनेउनीहरूले बताए ।
‘सुरुमा अलि समस्या थियो,’ मानकुमारीले भनिन्, ‘अहिले बत्ती कात्न थालेपछि समय गएको पत्तै हुँदैन ।’ बत्ती खरिद गर्न देशका विभिन्न जिल्लाहरूबाट सर्वसाधारण आउने गरेको उनले बताइन् ।
अहिले यहाँ बत्ती कातेर मात्रै मासिक चारदेखि १० हजारसम्म आम्दानी हुनेगरेको लक्ष्मी पौडेलले बताइन् । जेष्ठ नागरिक आश्रममा बसोबासको व्यवस्था आश्रम सञ्चालक समितिले गरिदिए पनि खानपान, उपचार र व्यक्तिगत खर्चको जोहो आफैंले गर्नुपर्छ । यहाँ बस्ने अधिकांशले सामाजिक सुरक्षा भत्तासमेत पाउँछन् । सामाजिक सुरक्षा भत्ताबाहेक बत्ती कातेर आउने पैसा बचाएर केहीले भविष्यका लागि बचतसमेत गर्दैआएका छन् ।
यहाँ बसोबास गर्ने ज्येष्ठ नागरिकहरूका लागि मोदीवेणी धार्मिक क्षेत्र विकास समितिले भवन बनाइदिएको छ । विभिन्न दाताहरूको सहयोगमा निर्मित पक्की भवनमा ५० जनासम्म बस्न मिल्छ । २०६५ देखि निर्माण थालिएको ज्येष्ठ नागरिक आश्रममा अहिले खानेपानी र शौचालयको व्यवस्था छ ।
‘विगतमा शौचालय र खानेपानीको साह्रै समस्या थियो,’ आश्रम सञ्चालक समितिका उपाध्यक्ष खुमराज पराजुलीले भने, ‘धेरै दाता खोजेर अहिले सबै व्यवस्थापन गरेका छौं ।’ यहाँ बस्ने जेष्ठ नागरिकमध्ये अधिकांशले खानपानको खर्च व्ययवस्थापन आफैंले गर्दैआएका छन् ।
नेपाल सरकारको महिला तथा बालबालिका मन्त्रालयले केही खर्च पठाउने व्यवस्था गरेको थियो । तर, आर्थिक वर्ष २०७२/०७३ र ०७३/०७४ मा गरी दुई वर्ष मात्रै पठाएर रोकेपछि अहिले समस्या भएको समितिले जनाएको छ । ‘पहिला दुई वर्ष पठाएको थियो,’ समितिका अध्यक्ष केशवदास पौडेलले भने, ‘माथिबाट पैसा आउँदा आश्रम सञ्चालनमा सहज हुन्थ्यो । त्यो पैसा निरन्तर नआउँदा समस्या भएको छ ।’ नियमित आउने अनुदान माग गर्न समितिले स्थानीय नगरपालिका, जिल्ला समन्वय समिति लगायतमार्फत मन्त्रालयसम्म पुगेको उनले बताए तर कतैबाट सुनुवाइ भएकै छैन ।
यहाँ आश्रय लिएका जेष्ठ नागरिकमा अधिकांश महिला छन् । फरक–फरक स्थानबाट आएका उनीहरूको कहानी पनि फरक–फरक नै छ । २०३२ सालमा प्रधानपञ्च भएको आरोपमा श्रीमान्लाई विपक्षीले हत्या गरेपछि २८ वर्षकै उमेरमा विधवा भएकी बलेवाकी मानकुमारी काखे छोरी च्यापेर केही वर्ष घर र माइत गरिन् । छोरीलाई सानै उमेरमा विवाह गरेपछि समय कटाउने उचित गन्तव्यलाई उनलेमोदीवेणी रोजिन् ।
उनीबाहेक यहाँ आएका अधिकांश महिला श्रीमान्ले दोस्रो विवाह गरेपछि विरक्तिएर आउने छन् । फरक–फरक समस्या भएर पनि यहाँ एउटै छानामुनि बस्दा पुरानो समस्या बिर्सिने गरेको उनीहरूले बताए ।
कान्तिपुर दैनिकबाट साभार