प्रमुख समाचार

मनकारी अध्यक्ष रामकृष्ण, चन्द्रेश्वर शिवालयलाई एक लाख बढी सहयोग

By लोकतन्त्र अनलाईन

December 25, 2018

पर्वत– जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । पुष २ गतेदेखि सुरु भएको शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको आठौ दिन सोमबार अध्यक्ष मल्लले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो । अध्यक्ष मल्लले गाउँपालिकाको भैपरि आउने बजेटबाट चन्द्रेश्वर शिवालय सम्म सडक र मुल सडक देखि शिवालयसम्म पदमार्ग बनाउन पालिकाबाट एक लाख रुपैयाँ बिनियोजन भएको जानकारी दिनुभयो । धार्मिक पर्यटकीय विकासको उद्देश्य राखेर आयोजित महायज्ञको सातौ दिन आइतबारसम्म २४ लाख ५२ हजार ७६७ रुपैयाँ संकलन भएको कोषाध्यक्ष हिराबहादुर जिसीले बताउनुभयो । शनिबारसम्म १८ लाख २२ हजार १४३ रुपैयाँ संकलन भएको महायज्ञमा आइतबार छ लाख २९ हजार ५९४ रुपैयाँ थपिएको हो । ओझलमा परेको चन्द्रेश्वर शिवालयको प्रचारप्रसारका साथै नियमित पुजा सञ्चालन र पूर्वाधार निर्माणका लागि आयस्रोत जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर खत्रीले बताउनुभयो । पुष १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित भिमनाथ पराजुलीले कथावाचन गर्नुभएको छ ।