व्यवसाय दर्ता, नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि घुम्ति शिविर
पर्वत, ८ पुस । जलजला गाउँपालिकाले व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि शनिबारदेखि वडा स्तरमा घुम्ति टोली खटाएको छ ।
गाउँपालिकाको आयस्रोत र करको दायरा बढाउन सर्वसाधारणको सहजताका लागि कर्मचारी परिचालन गरेर वडाबाटै व्यवसाय दर्ता, नविकरण, सम्पती तथा भूमिकर संकलन गर्ने व्यवस्था मिलाएको हो । मल्लाज स्थित ३ नम्बर वडा कार्यालयबाट सुरु भएको घुम्ति शिविर ९ वटै वडामा १७ दिनसम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताउनुभयो ।
सम्पती तथा भूमिकरका फोकल पर्सन नायव सुब्बा भेषनाथ आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकाल, अनिताकुमारी शर्मा, उदयचन्द्र श्रेष्ठ, इन्द्रबहादुर खत्रीको टोली परिचालन गरिएको छ । सम्बन्धित वडाका जनप्रतिनिधिहरु र सचिवसँगको समन्वयमा टोलीले कर सकलन गर्ने जनाइएको छ ।
एउटा वडामा एक देखि दुई दिनका दरले पुष २२ गतेसम्म घुम्ति टोली परिचालन गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको छ ।
संबैधानिक ब्यवस्था अनुसार गत असारमा भएको गाउँसभाले पारित गरेको सम्पती तथा भुमिकर ब्यवस्थापन कार्यबिधि २०७५ अनुसार विभिन्न मापदण्डको आधारमा वैज्ञानिक रुपमा करको दर निर्धारण गरि कर संकलन सुरु गरेको राजस्व शाखाका प्रमुख आचार्यले बताउनुभयो ।
कार्यबिधिले एक लाख सम्मकालाई एक सय, एक लाख एक देखि दुई लाख सम्म २५०, दुइ लाख एक देखि ५ लाखसम्म १८०, पाँच लाख देखि दश लाख सम्म प्रतिलाख ५६, दश लाख १ देखि २० लाख सम्म प्रतिलाख ५५ रुपैयाका दरले कर निर्धारण गरेको छ ।
बीस लाख १ देखि तीस लाख सम्म प्रतिलाख ५४, तीस लाख एक रुपैयाँदेखि चालीस लाख सम्म प्रतिलाख ५३, चालीस लाख एक देखि पचास लाख सम्म प्रतिलाख ५२ र पचास लाख रुपैया भन्दा बढी प्रतिलाख ५१ रुपैयाँका दरले कर तिर्नुपर्ने कार्यबिधीमा उल्लेख छ ।
सम्पती तथा भूमीकरबाट यस वर्ष चालिस लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ । जलजलामा छ हजार करदाता रहेका गाउँपालिकाको अनुमान छ । नागरीकको क्षमत्ता अनुसार वैज्ञानिक बिधी अपनाएर कर संकलन गरिने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले बताउनुभयो ।
बस्ती स्तरमा घरदैलो गरेर गणकहरुले संकलन गरेको सम्पती विवरण गाउँपालिकाले आफ्नै सफ्टवयरको विकास गरि व्यवस्थित र सुरक्षीत अभिलेख राखिएको सूचना प्रबिधि अधिकृत मिलन मल्लले बताउनुभयो ।