पर्वत /उमेर ५० बर्ष पुगि सक्यो तर अहिले सम्म नागरिकता पाएकी थिइनन उनले । नागरिकता माग्दा समेत सौता र सौतेनी छोरीले अहिले सम्म बनाइदिएनन । नागरिकता कै अभाबमा बिद्यवा भत्ता समेत पाउन नसकेकी रुपा पौडेल क्षेत्रीले शुक्रबार गाउँघरमै नागरिकता पाईन ।
जिल्ला प्रशासनको टोलीले कुस्मा नगरपालिका १४ खौलामा आयोजना गरेको घुम्ती शिबीरमा उनलाई नागरिकता दियो । परिवारको सदस्य हो भनेर सौता र छोरीले नागरिकता नबनाईदिएका कारण अहिले सम्म सबै अधिकारबाट बञ्चित भएकी ५० बर्षिया पौडेल क्षेत्रीले शुक्रबार नागरिकता पाउँदा दंग बनिन । हामी जस्ता निमुखाले पनि घरमै आएर नागरिकता पाउँदा सबैभन्दा ठुलो खुसी मिलेको छ ।
सात बर्ष पहिले दोस्रो बिबाह गरेर खौला लाँकुरीमा आएकी रुपाका श्रीमान भीमबहादुर पौडेलको दुई बर्ष पहिले मृत्यु भएको हो । श्रीमानको मृत्युपछि नागरिकता नहुदा उनले बिधवाभत्ता समेत पाएकी थिइनन । सात बर्षका अपांग छोरा समेत छन उनको पनि जन्मदर्ता भएको छैन । नागरिकता माग्दा सौता र छोरीले उल्टै धाक धम्की दिन्थे उनले भनिन आज बल्ल मैले न्याय र अधिकार पाएकी छ’
नागरिकताका लागि सनाखत गर्न नमानेका सौतालाई जनप्रतिनिधी र प्रहरी समेत पठाएर घुम्ती शिबीरमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । गाउँगाउँमा धेरै महिलाहरु परिवारको अपहेलना सहेर बस्दै आएका र नागरिकता समेत नपाउँदा अधिकारबाट पनि बञ्चित भएको भेटिएपछि यस्ता हिंसापिडीत महिलालाई नागरिकता दिने अभियान सञ्चालन गरिएको उनको भनाई छ । प्रजिअ ढकालको पहलमा दुई महिनाको अवधीमा पाँच जना हिंसापिडीत महिलालाई परिवारका सदस्यलाई प्रहरी मार्फत झिकाएर नागरिकता दिइएको छ ।
यसैगरि शुक्रबार भएको शिबीरमा १ सय १६ जनालाई नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नारायण पौडेलले जानकारी दिए । शिबीरमा कुस्मा नगरपालिका वडा नं १२,१३ र १४ तथा फलेबास नगरपालिका वडा नं १ र २ का बासिन्दाहरु लाभान्वित भएका छन । शिबीरमा ७७ जनाले फोटो सहितको मतदाता नामावली संकलन गरिएको छ ।