काठमाडौँ, ६ पुस । गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे (राजीव गुरुङ) रिहा भएका छन् । सर्वोच्च अदालतको आदेश अनुसार उनी शुक्रबार रिहा भएका हुन् । डिल्लीबजार जेलमा रहेका मनाङेमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा परेको थियो। उनी प्रदेश ४ का प्रदेशसभा सदस्यसमेत हुन्।
अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगत्तै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएनन् । सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले स्वयम्भुबाट पक्राउ गरेको थियो ।
मनाङे समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार प्रहार गरेको थियो। सोही अभियोगमा मनाङेमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यानमुद्दा नभई कुटपिट ठहर २ वर्ष जेल सजाय सुनाएको थियो।
१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा अनुसार मनाङे छुटेका हुन्।
दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियाे ।
फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गएको थियो। अदालतले ०६९ मा ज्यानमुद्दा ठहर गर्दै मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।